नेकपा र सूर्य चिन्ह हाम्रै हो : प्रचण्ड



काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्र निर्वाचन आयोगले पार्टीको आधिकारिकता आफूलाई दिने बताएका छन् । सोमबार काठमाडौंको बबरमहलमा आयोजित पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीचको एकता घोषणा सभामा प्रचण्डले अबको केही दिनमा पार्टीको नाम र सूर्य चिन्ह आफूहरुलाई दिने बताएका हुन् ।
निर्वाचन आयोगले अबको केहीदिनभित्र पार्टीको आधिकारिता आफूलाई दिने प्रचण्डको दाबी छ । अदालतसँगको सेटिङको कुरा भत्किसकेको उल्लेख गर्दै उनले अब निर्वाचान आयोगवाला सेटिङ पनि भत्किने दाबी गरे । ‘मैलै बुझेर भनेको हुँ, अबको केही समयभित्रै निर्वाचन आयोगले केपी ओलीलाई यो पार्टी उहाँको आधिकारिक हुन सम्भव हुन्न, आधिकारिक पार्टी बहुमतवाला पार्टी नै हो र सूर्य चिन्ह र नाम उहाँकै हो भन्ने फैसला हुन्छ,’ उनले भने ।
प्रचण्डले सरकारले गरेको निर्णय सर्वोच्चबाट खारेज भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा पदबाट राजीनामा माग गरे । प्रचण्डले पूरै देशले राजीनामा मागिरहेको तर ओली ‘अझै देखाइदिन्छु’ भन्दै हिँडेको बताए । प्रचण्डले भने, ‘नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भनेर पूरै देशले भनिरहेको छ। तर, राजीनामा दिनु त कता हो कता, म अझै देखाइदिन्छु भन्दै हुनुहुन्छ उहाँले । अब देखाउन के बाँकी छ । उहाँले संकटकाल लगाएर देखाउने भन्या हो कि । किनभने उहाँ त पार्टी सदस्य पनि हुनुहुन्न ।’
उनले अहिलेको समस्या आउनुमा प्रधानमन्त्री ओली मुख्य जिम्मेवार रहेको दाबी गरे । ओलीले आफूसँग विभिन्न सम्झौता गरेर कार्यान्वयन नगरेको हुनाले अहिलेको समस्या निम्तिएको उनको तर्क छ । ‘केपी ओलीजीको सबैभन्दा ठूलो समस्या गएको तीन वर्षमा मैले के देखेँ भने कुर्सी प्राप्तिको निम्ति जे पनि सम्झौता गरिदिने, प्राप्त भइसकेपछि कार्यान्वयन एउटा पनि नगर्ने उल्टो कार्यान्वयन गर्ने षड्यन्त्रकारी चरित्र नै समस्याको चुरो हुन आयो,’ उनले भने, ‘उहाँले सबै सहमति गर्नुभयो, आलोपाले अध्यक्षमा पनि उहाँले हस्ताक्षर गर्नुभएको छ, आलोपालो प्रधानमन्त्रीमा पनि उहाँले हस्ताक्षर गर्नुभएको छ । अनि, जबज छोडेर हस्ताक्षर गर्ने पहिलो व्यक्ति केपी ओली नै हो । एमाले विघटन गर्नुपर्छ भनेर हस्ताक्षर गर्ने पहिलो व्यक्ति पनि केपी ओली नै हो। अनि प्रधानमन्त्री भइसकेपछि पछाडि फर्किने पनि केपी ओलीजी नै हो ।’

प्रतिक्रिया दिनुहोस्