ओलीलाई हटाउने तागत नेकपासँग मात्र छ : राजेन्द्र महतो



धनगढी । जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले नैतिकताका आधारमा राजीनामा नदिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने तागत उनकै पार्टी नेकपासँग मात्रै रहेको बताएका छन् ।
धनगढीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा महतोले आफ्नो पार्टी जसपा र नेपाली कांग्रेस मिल्दा समेत ओलीलाई हटाउन बहुमत नपुग्ने बताए ।
‘कांग्रेस र जसपा मिलेर पनि केही हुनेवाला छैन, ओलीलाई हटाउने नेकपाले नै हो’, महतोले भने ।
उनले नेकपाका दुवै समूहले जनतालाई झुक्याइरहेको बताए । ‘नेकपाले मात्रै ओलीलाई हटाउन सक्छ, दलको नेताबाट हटाउन सक्नुप¥यो, नभए पार्टी फोरेर हटाउनु प¥यो’, महतोले भने, ‘ओलीको विकल्प नेकपाबाटै आउँछ , अहिले जनतालाई झुक्याउने काम भइरहेको छ ।’
उनले नेकपाका नेताहरु प्रचण्ड र माधव कुमार नेपालले ओलीलाई हटाउन सहकार्य गरौँ भनेर प्रस्ताव गरिरहेकोमा कुनै समूहसँग आफूहरुको सत्ता सहकार्य नहने बताए ।
उनले देशमा नैतिकताको खडेरी देखिएको पनि बताए । नैतिकता भएको भए केपी ओलीले राजीनामा दिनुपर्ने उनले बताए ।
‘नैतिकतामा राजीनामा मागिँदैन, महसुस भएपछि दिने कुरा हो’, महतोले भने, ‘केपी ओलीमा नैतिकता नै देखिएन ।’
महतोले रेशम चौधरीलाई रिहाई नगरे जेल भराउ आन्दोलन सुरु हुने पनि बताए । उनले रेशमलाई अब लामो समयसम्म जेलमा राखिरहने तागत अब कसैसँग नभएको पनि बताए ।
महतोले भने, ‘रेशमलाई अब जेलमै राखिरहने तागत कसैसँग छैन । रिहाई नगरे जेल भराउ आन्दोलन सुरु हुन्छ, हामी सबैलाई जेलमा राख्ने क्षमता राज्यसँग छैन ।’
कैलालीको टिकापुरमा २०७३ साल भदौ ७ गते थरुहट आन्दोलनका क्रममा हिंसा भड्किँदा एक नावालक र प्रहरी वरिष्ठ उपरीक्षकसहित ८ जनाको हत्या भएको थियो । उक्त घटनाका योजनाकार रहेको अभियोगमा रेशम जेलमा छन् ।
घटनापछि फरार रहेकै अवस्थामा रेशम कैलाली १ बाट अत्यधिक बहुमतका साथ सांसद पदमा विजयी भएका थिए ।
निर्वाचन जितेपछि जिल्ला अदालतमा हाजिर भएका रेशमलाई जन्मकैदको फैसला सुनाएको थियो । हाल उनी डिल्लीबजार कारागारमा छन् ।

प्रतिक्रिया दिनुहोस्