मुलुक सुन्दर, स्वाधीन र समृद्ध बनाउने सपना छ : विप्लव



काठमाडौं । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारसँग भएको तीन बुँदे सहमति केवल दुई पार्टी र दुई नेताबीचको नभइ नेपाललाई सुन्दर, स्वाधीन र समृद्ध बनाउने सपना लुकेको बताएका छन् । विप्लवले सरकारसित भएको तीनबुँदे सहमति पालन गर्ने प्रतिबद्ध पनि जनाएका छन् ।
राष्ट्रियसभागृहमा शुक्रबार आयोजित कार्यक्रममा सहमतिपत्रमा हस्ताक्षरपछि बोल्दै विप्लवले सहमति कार्यान्वयनमा शंका नगर्न आग्रह गरे । ‘यस सहमति राज्य र नेकपाबीच मात्र होइन, यस सहमतिका पछाडि महान आकांक्षा छ, देशलाई सुन्दर देश बनाउने सपना छ,’ उनले भने ।
‘तीनबुँदेमा प्रतिबद्ध छौँ । पालना गर्छौँ । कोहीबाट पनि आशंका, उत्तेजना र कुतर्क गर्न जरूरी छैन । यो अगाडि पनि प्रधानमन्त्रीसँग हाम्रो कुरा भएको थियो । जनतासँग श्रममा उभिएर देश बनाऔँ भनेर भनेका थियौँ,’ उनले भने ।
उनले नेपाल सरकार र आफ्नो पार्टी दुवैका तर्फबाट भूमिका खेल्ने सबैलाई पनि धन्यवाद दिए ।
‘नेपाली जनताको अहिलेसम्म पूरा नभएको सबै आकांक्षा र नेपाली जनताभित्र हुर्किएको सम्बृद्ध जीवनको चाहना लुकेको छ,’ उनले भने । उनले यस क्रममा क्रान्तिकारी अग्रजहरुलाई पनि सम्झिए ।
‘आजको दिनमा सहिदहरुले निश्चल सपना बोकेर, उत्कृष्ट आकांक्षा राख्दै नेपाली जनताको सुखद भविष्यका लागि जुन कामना गरेका थिए, त्यसलाई सम्झन चाहन्छु,’ उनले भने ।
उनले सहिदको र नेपाली जनताको चाहना पूरा नभइसकेको उल्लेख गर्दै जुन उद्देश्य लिएर कम्युनिष्ट आन्दोलनमा सहभागी भएको हो, त्यसलाई पूरा गर्ने प्रतिबद्धता पनि जनाए ।
विप्लवले कम्युनिस्टहरु विद्रोही मात्रै नभएर शान्तिका दूत समेत भएको बताए । सहिदको सपना र जनताको चाहना पूरा गर्न आफूहरु शान्तिपूर्ण राजनीतिमा फर्किएको बताए । केपी ओली नेतृत्वको सरकारसँग भएको सहमतिलाई उनले ‘घाम र जूनको भेट’सँग तुलना गर्दै भने ‘धेरैले अनेक अनुमान गरेका छन् तर यो सहमति घाम र जूनको भेट जस्तै हो । त्यो सम्भव बनाएर हामी देखाउँछौँ ।’
यस्तै सरकार र आफ्नो पार्टीको वार्ता एक सहमति मात्रै नभएर समृद्ध नेपाल बनाउने सिंगो सपना भएको कुरा । विप्लवले मुलुकको भविष्यको फैसला गर्न जनमत संग्रहमा जानुपर्ने धारणा पनि राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्