पासपोर्ट थन्काएर होटल व्यवसायमा युवा



म्याग्दी : पर्यटकीय जिल्ला म्याग्दीमा पछिल्लो समय  होटल, रेस्टुरेन्ट तथा रिसोर्टमा लगानी गर्ने युवाको संख्या वृद्धि हुँदै गएको छ।

म्याग्दीमा आन्तरिक वा वाह्य पर्यटकको आगमन बढ्न थालेपछि विदेशवाट फर्किएका वा विदेश जान राहदानी बनाएका युवाहरुले बाकसमा पासपोर्ट थन्काएर होटल क्षेत्रमा लगानी गरेका हुन्। होटेल क्षेत्रमा युवाको आगमन बढ्दै गएपछि होटलको संख्या र लगानी त बढेको छ नै पाहुनाका लागि सेवा र सुविधा पनि थपिएका छन्।

लाहुरेको जिल्ला भनेर परिचय बनाएको म्याग्दीमा पछिल्लो समय युवाहरु बैदेशिक रोजगारीका लागि बनाएको पासपोर्ट बाकसमा थन्काएर विदेश जान लाग्ने रकम होटलमा लगानी गरेका छन् । पछिल्लो समय जिल्लामा वाह्यसँगै आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेपछि होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्ने युवाको संख्या पनि बढ्दै गएको हो।

करिब ४ वर्ष कतारमा बसेर काम गर्दा राम्रो कमाइ नभएपछी निराश भएर नेपाल फर्केका दीपक जिसीले ३५ लाख रुपैयाँ लगानीमा दुई जना साथी मिलेर बेनीको हस्पिटल चोकमा ब्रदर फुट स्टेसन रेस्टुरेन्ट सञ्चालन गरेका छन्। विदेशभन्दा आफ्नै ठाउँमा गरेको श्रम र लगानीले अहिले आफू सन्तुष्ट भएको र मनग्गे आम्दानी गर्न सफल भएको जिसीले बताए। जिसीका अनुसार अहिले मासिक २ लाखभन्दा बढि कमाइ हुने गरेको छ।

विदेश गएका साथीले छुट्टीमा नेपाल आएका बेला सुनाएका दुःखका कहानीले विदेश जाने मोह छाडेर करिब ५० लाख लगानीमा बेनीको गणेशटोलमा ओल्ड हाउस एन्ड नेवारी किचन सञ्चालन गगरेका छन् सिसन श्रेष्ठले। श्रेष्ठको किचन छोटो समयमा नै प्रसस्त आम्दानी गर्न सफल भएको छ।

७ जनाले रोजगारी पाएका छन्। श्रेष्ठले रेस्टुरेन्टबाट सबै खर्च कटाएर मासिक ४ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। विदेश जाने लगानीले नेपालमा नै केही गरे त्यहाँ कमाउने पैसा यहीं कमाउन सकिने श्रेष्ठको भनाइ छ।

म्याग्दीमा २५ वर्ष पहिलेदेखि संचालन हुँदै आएका होटलले समेत राम्रो कमाइ गर्न सफल भएका छन्। पछिल्लो समयमा म्याग्दीमा होटलको संख्या बढ्दै जाँदा गुणस्तर र सुविधासमेत सुधार भएको बताउँछन् बेनीमा २५ वर्षदेखि संचालन हुँदै आएको होटल यतिकी संचालिका विमला गौचन।

बेनीमा मात्र अहिले २ सयभन्दा बढी होटल तथा रेस्टुरेन्ट सञ्चालनमा रहेका छन्। सबै होटलमा अनुमानित १० अर्बभन्दा बढीको लगानी रहेको छ। यी सबै होटल मुस्ताङको भरमा थामिएका छन्। २ सय होटलमा करिब ३३ होटल युवाले सञ्चालन गरेका छन्।

पर्यटकीयस्थलको प्रचारप्रसार गरेर पर्यटकलाई एक दिन  पनि म्याग्दीमा राख्न सके यहाँ आर्थिक विकाससँगै होटल व्यवसाय अझै फस्टाउने सम्भावना रहेको होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका अध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम) ले बताए।

व्यवसायप्रति युवा लगाव कम हुन नदिन आवश्यक सहयोग, तालिम र उचित वातावरण मिलाउन जरुरी देखिएको सरोकारवालाको भनाइ  छ।

प्रतिक्रिया दिनुहोस्