अप्ठ्यारोमा माधवकुमार नेपाल



काठमाडौं । नेकपा पार्टी विभाजन पछि प्रचण्ड समूहमा लागेर पार्टी अध्यक्ष बनेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सर्वोच्च अदालतको पछिल्लो निर्णय पछि झन अप्ठ्यारोमा परेका छन् ।
सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रबीचको एकतालाई अवैधानिक ठहर गर्दै नेकपा नाम पनि नदिएपछि नेपाल समूह सबैभन्दा बढी संकटमा परेको हो ।
नेपाल समूहले नेकपा एमालेभित्रै रहेर प्रधानमन्त्री केपी शर्मा ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने निष्कर्षमा पुगेको छ । नेपालनिकट स्थायी कमिटी सदस्यहरुबीच सोमबार नयाँ बानेश्वरको अर्याल होटलमा भएको छलफलमा एमालेभित्रै रहेर संघर्ष गर्ने निष्कर्ष निकालेका हुन ।
अदालतको आदेशलाई सम्मान गर्दै एमाले पार्टीभित्रै रहेर आफ्नो असहमतिलाई निरन्तर रुपमा अघि बढाउने निष्कर्ष निकालिएको एक नेताले बताए । राजनीतिक संकट आएपछि त्यसलाई कसरी सामना गर्ने भन्ने विषयमा छलफल गर्न नेपाल पक्षले छलफल गरेको हो । छलफलमा नेपाल पक्षका १३ जना स्थायी समिति सदस्य सहभागी थिए ।
बैठकमा सहभागी नेताकाअनुसार सर्वोच्च अदालतले तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच भएको एकीकरण खारेज गरिदिएपछि नेपाल समूह एमालेमै रहने मनस्थितिमा पुगेको छ । उनले आफूहरू नेकपा (एमाले) मै रहेर प्रधानमन्त्री केपी शर्मा ओलीको ’ओली प्रवृत्ति’ विरूद्ध लड्ने मनस्थितिमा रहेको बताए ।
ती नेताले एमालेमै रहेर पनि ओलीसँग लड्न नेपाल समूह सक्षम रहेको दाबी गरे । केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपा (एमाले)का १२० प्रतिनिधि सभा सदस्यमध्ये अहिले नेपाल समूहसँग ४० जना सांसद छन् भने थप दुई जना पनि आफूहरूतिर आउने उनीहरूको दाबी छ । त्यस्तै नेकपा एमालेको साबिकको केन्द्रीय समितिमा पनि नेपाल समूह झन्डै बराबरीको हैसियतमा छ ।

प्रतिक्रिया दिनुहोस्