अनुदानमा साेलार पाएपछि दंग छन् सानीभेरी गाउँवासी



रुकुम पश्चिम : सानीभेरी गाउँपालिका–१० का आधा दर्जन बढी टोलका २०० परिवारले सोलार बत्तीको उज्यालोमा बस्न पाएका छन्। पहाडी साना किसानका लागि अनुकूलन आयोजना (आशा) जिल्ला समन्वय एकाइले वडाका २०० घरपरिवारलाई सोलार उपलब्ध गराएको हो।

 

वडाका तिमिले, चिन्तु, सार्कीमारे, घण्ठाना, डाँडाअर्मा, दाब्रेखोला, लाहौरडेरा र भेरीटोलका नागरिकलाई ७६ प्रतिशत अनुदानमा सोलार उपलब्ध गराइएको छ। सोलार वितरणका लागि कूल रु २६ लाख ३५ हजार १५० खर्च लागेको आशाले जनाएको छ।

आशाले रु २० लाख १५ हजार १५० र उपभोक्ताले रु छ लाख २० हजार नगद ब्यहोरेका छन्। प्रतिसेट रु १२ हजार ९१७ का दरले खरीद गरी वडाका ३६० मध्येमा २०० परिवारलाई बाँडिएको आशा परियोजनाकी निमित्त जिल्ला संयोजक भारती केसीले जानकारी दिइन्।

उनका अनुसार कूल लागतमा ७६.४८ प्रतिशत खर्च आशा र २३.५२ प्रतिशत उपभोक्ताले लगानी गरेका छन्। विद्युत्को पहुँचमा नपुगेका नागरिकलाई वैकल्पिक ऊर्जाको माध्यमबाट विद्युत्को पहुँचमा पु-याउने उद्देश्यले सोलार वितरण गरिएको उनले जानकारी दिए।

परियोजनाले जलवायु अनुकूलनका लागि भौतिक र आयआर्जनमूलक कार्यक्रम सञ्चालन गरिरहेकामा भौतिकतर्फको कार्यक्रमअन्तर्गत नागरिकलाई सोलार बाँडिएको जनाइएको छ। स्थानीय शिवशक्ति कृषक समूहसँग सम्झौता गरी सोलार बाँडिएको हो। गाउँपालिका अध्यक्ष नरबहादुर पुनले सोलार वितरण गरेका हुन्।

सोलार वितरण कार्यक्रमबाट जलवायु परिवर्तनका कारण निम्तिएका असरलाई कम गर्नका लागि सहयोगीको भूमिका खेल्ने उद्देश्य राखिएको छ। मानवीय गतिविधिका कारण कार्वन उत्सर्जन भई वातावरणलाई असर नगरोस् भन्ने उद्देश्यका साथ सोलार वितरण गरिएको आशा परियोजनाकी जिल्ला जलवायु परिवर्तनविज्ञ रेविका गुरुङले बताइन्।

 

“विद्युत्को पहुँच नपुगेका गाउँमा उज्यालोका लागि दाउरा, दियालो, मट्टितेल र पेट्रोल बाल्दा कार्वन उत्सर्जन बढिरहेको छ”, उनले भनिन्, “सोलारबाट उज्यालो बनाई कार्वन उत्सर्जन रोक्न टेवा पु-याउने उद्देश्यले सोलार उपलब्ध गराइएको हो ।”

 

आशाले स्थानीय योजना अनुकुलन कार्ययोजना (लापा) कार्यक्रम लागू भएका जिल्लाका विभिन्न ठाउँमा जलवायु अनुकूलनका लागि काम गरिरहेको गुरुङको भनाइ छ। वडाका ३६० घरपरिवारमध्येमा २०० परिवारलाई सोलार उपलब्ध गराइएपछि वडाका अधिकांश परिवार सोलारबाट झिलीमिली हुँदैछन् ।

 

यस पटक सोलार पाउन नसकेका १६० घरपरिवारमध्येमा अधिकांश घरपरिवार यसअघि नै सोलारबाट झिलीमिली छन्। बिहीबार बाँडिएका सोलार जडान गरिएपछि वडाका केहीबाहेक अधिकांश घरपरिवार झिलीमिली हुनेछन्।

प्रतिक्रिया दिनुहोस्