नेपालमा लगानी र वस्तु आयात गर्न भियतनाम सहमत



काठमाडौं : भियतनाम भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार आफ्ना समकक्षीसँग भेटवार्ता गरेका छन्। भियतनामका प्रधाममन्त्री न्युग्यन सुआन फुकको निमन्त्रणामा पाँच दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली भियतनाम गएका हुन्। 

शनिवार प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिलाई त्यहाँको राष्ट्रप्रमुख निवासमास्वागत गरिएको थियो। स्वागतपछि ओली र समकक्षी न्युग्यन सुआन फुकबीच वार्ता भएको थियो। 

प्रधानमन्त्री ओलीले त्यहाँका राष्ट्रिय सभाका अध्यक्ष न्युग्यन थि किमसँग समेत भेट गरेका थिए।

उनले होचि मिन्ह राजनीति राष्ट्रिय एकेडेमीमा साथै भियतनाम नेपालबीचको व्यापारिक मञ्चमा सम्बोधन गरेका थिए। एकेडेमीमा ओलीले होचि मिन्हप्रति श्रद्धान्जली व्यक्त गर्दै प्रधानमन्त्री ओलीले उनका कार्यको प्रशंसा गरेका थिए।

प्रधानमन्त्री ओलीले आइतबार भिसाकमा संयुक्त राष्ट्रसंघीय दिवसको अवसरमा सम्बोधन गर्ने कार्यक्रम छ। औपचारिक वार्ता सद्भावपूर्ण ढङ्गबाट सम्पन्न भएको दुई देशको सद्भावपूर्ण सम्बन्धका बारेमा चर्चा गरिएको भेटपछि परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा बताइएको छ।

भेटमा दुवै प्रधानमन्त्रीले आ–आफ्ना देशका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाको बारेमा धारणा राखेका थिए। प्रधानमन्त्री ओलीको यो भ्रमणले दुईदेशबीचको सम्बन्धमा अझ प्रगाढता थप्ने दुवैले विश्वास व्यक्त गरेका छन्।

समकक्षी सुआनले पनि ओलीसँग भेट्न पाउँदा खुसी लागेको बताए। यसै क्रममा दुवै देशका विदेश मन्त्रीबीच व्यापार र लगानीका क्रममा हुने भ्रमण भिसा तथा पासपोर्टका विषयमा भएको सहमतिमा हस्ताक्षर भएको छ।

त्यस्तै कूटनीतिज्ञ र सरकारी अधिकारीको भिसा छुट दिने सहमति भएको छ भने च्याम्बर अफ कमर्स नवीकरण गर्ने सम्झौता समेत भएको छ। यो सहमतिले आर्थिक र व्यापारिक अंगलाई सहयोग गर्नुका साथै ऊर्जा, प्रविधि, पर्यटन, कृषि लगायतका क्षेत्रको स्तरउन्नतिमा टेवा पुग्ने विश्वास गरिएको छ।

त्यस्तै भेटमा नेपाली सामग्री भियतनाम निर्यात गर्ने, भियतनामका लगानीकर्ताले नेपालमा लगानी गर्ने विषयमा छलफल भएको र भियतनामले सकारात्मक प्रतिक्रिया दिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

दुवै देशले पर्यटक आदानप्रदान गर्न प्रेरित गर्ने सम्झौता गरेका छन्। भेटमा प्रधानमन्त्री ओलीले आफूलाई भ्रमणका लागि बोलाएकोमा धन्यवाद दिनुका साथै निकट भविष्यमै नेपाल भ्रमणका लागि समकक्षी न्युगेनलाई निम्तो समेत दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्