प्रदेश सभा सदस्यबाट मन्त्री आङ्बुहाङ पदमुक्त



विराटनगर : नेकपा माओवादी केन्द्रले प्रदेश १ सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री रहेका टंक आङ्बुहाङलाई प्रदेश सभा सदस्य पदबाट हटाएको छ । माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरी मन्त्री बनेका उनलाई प्रदेश सभा सदस्यबाट हटाइएको हो ।

प्रदेश सभा सदस्यबाट हटाएको जानकारी आजै प्रदेश सभालाई जानकारी दिने माओवादी केन्द्रको तयारी छ । ‘पार्टीले पदमुक्त गरिसकेको छ,’ माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले भने, ‘पदमुक्त गरेको पत्र तयारी छ, आजै प्रदेशसभामा जानकारी गराउँछौं ।’ दल त्याग गर्दै वर्तमान प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका प्रदेशसभा सदस्य टंक आङ्बुहाङलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर उनले स्पष्टीकरण बुझाएनन् । स्पष्टीकरण नबुझाएपछि पार्टीले पदमुक्त गरेको हो ।

नेकपा विभाजनमा एमाले प्रवेश गर्दै मन्त्री बनेका आङ्बुहाङको कार्यकाल अब छ महिनाको मात्रै हुनेछ । गैर सांसदले छ महिना मात्रै मन्त्री बन्न पाउने प्रावधान छ । उनले चैत १३ गते मन्त्रीको पदभार ग्रहण गरेका थिए । तत्कालीन नेकपा संसदीय दलका उपनेता आङ्बुहाङ ताप्लेजुङ ‘ख’ बाट निर्वाचित भएका थिए । माओवादी जनयुद्ध लडेका उनी एमाले प्रवेश लगतै केन्द्रीय सदस्य हुँदै मन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्