लुुम्बिनीका मुख्यमन्त्रीविरुद्धको अविश्वासको संकट टर्यो



बुटवल : विपक्षी दल जनता समाजवादी पार्टी (जसपा)का सांसदहरु विभाजित हुँदा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता तत्काललाई टरेको छ ।

८७ सदस्यीय प्रदेश सभामा जसपाका ६ जना सांसद छन् । ६ जनामध्ये तीनजना अविश्वास प्रस्तावको पक्षमा र तीनजना विपक्षमा उभिएका हुन् । सोमबार बिहान मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीच सहमति जुटिसकेको थियो । तर जसपाका सांसदहरु सन्तोष पाण्डे, विजय यादव र कल्पना पाण्डेले पार्टीको निर्देशनविपरीत अविश्वास प्रस्ताव दर्ता प्रकृयामा आनाकानी गर्दै पछि हटेपछि मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारमाथिको संकट टरेको हो ।

संसदीय दलका नेता सहषराम यादव, समानुपातिक सांसदहरु सुमन रायमाझी र पुर्मती ढेंगा सरकारविरुद्ध अविश्वास प्रस्तावको पक्षमा उभिएका छन् । ‘जसपा एकजुट भएको भए प्रदेश सरकार ढल्ने निश्चित थियो,’ कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले भने । सोमबारको प्रदेश सभा बैठकपछि पनि सांसद सन्तोष पाण्डे र यादवले मुख्यमन्त्री शंकर पोखरेलसँग सत्ता साझेदारीका लागि भेटवार्ता गरेको जसपा लुम्बिनी प्रदेश समितिका पदाधिकारीले पुष्टि गरे । सांसद कल्पना पाण्डेले भने पार्टीको निर्देशन बाहिर नजाने प्रतिवद्धता जनाएको ती नेताको दावी छ । ‘दुईजना माननीयले आफूखुशी प्रदेश सरकारलाई जोगाउने भूमिका खेल्नुभएको छ, उहाँहरु सच्चिनुपर्छ अन्यथा पार्टीले कारवाही गर्न वाध्य हुन्छ,’ जसपा लुम्बिनी प्रदेश पदाधिकारीले भने ।

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने देखिएपछि सरकारले हतारमा संसद अधिवेशन अन्त्य गर्ने निर्णय सोमबार नै गरेको छ । मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गर्ने निर्णय गरेको हो । सरकारको निर्णय अनुसार मंगलबार (आज) राति १२ बजेदेखि बैठक अन्त्य हुने छ । आज दिउँसो भने सदन चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्