एक गाउँ एक सहकारी अवधारणा आवश्यक : प्रदेश प्रमुख झा



काठमाडौं : प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले नेपालमा ‘एक गाउँ एक सहकारी’ अवधारणा कार्यान्वयनको आवश्यकता औल्याएका छन् । गाउँ गाउँमा सहकारी स्थापना गरी आम नागरिकलाई सहकारीमा समेट्न राष्ट्रिय सहकारी महासंघले नेतृत्व लिनुपर्ने बताउँदै उनले प्रदेश २ मा सहकारीको आवश्यकता बढी रहेको बताए ।

राष्ट्रिय सहकारी महासंघका पदाधिकारीसँगको भेटमा उनले ‘एक गाउँ एक सहकारी’ हुँदा हरेक नेपालीको आयस्तर बढ्ने, सदस्यले गरेको उत्पादनले बजार पाउने र रोजगारी सृजनामा पनि सहयोग पुग्ने बताए । ‘देशभर ३० हजारको हाराहारीमा सहकारी संस्था हुने अनी त्यही देशका मानिस ३६, ४० प्रतिशत ब्याजमा ऋण लिएर किन वैदेशिक रोजगारीमा गएका छन् । यो ज्यादै चिन्ताको विषय हो’ उनले भने, ‘कि तपाईहरु मधेशमा पुग्नुभएको छैन, कि तपाईहरुको योजनामा मधेश नै परेको छैन, मधेशका युवा आफ्नो खेत खन्न छोडेर चर्को ब्याजमा ऋण लिएर विदेशमा जानुभएको छ र बाकसमा फर्कनुभएको छ ।’

यो विषय आफूलाई मात्रै नभएर सहकारी महासंघका साथै सहकारी अभियानकै लज्जाको विषय भएको उनको भनाई छ । त्यस्ता युवाले सहकारी ऐनले भने अनुसार ब्याज पाउन नसकेर नै चर्को ब्याजमा ऋण लिएर वैदेशिक रोजगारीमा जानुपरेको भन्दै यसलाई न्यूनीकरण गर्न अब एक गाउँ एक सहकारीलाई अभियानकै रुपमा अघि बढाउनुपर्ने डा. अहिराजले बताए । सहकारी यसरी अघि बढ्न सके युवा विदेश पलायन नहुने र आफ्नै खेत खन्न थाल्ने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्