प्रधानमन्त्री ओलीलाई नेपाल समूहको ठूलो चुनौति



काठमाडौं : कर्णालीले राष्ट्रिय राजनीतिमा दिएको गतिलो सन्देशका मुख्य व्यक्ति हुन प्रकाश ज्वाला । कर्णाली अर्थ मामिला मन्त्री रहेका ज्वाला नेकपा एमालेको माधवकुमार नेपाल समूहका हुन् । पार्टी ह्वीप उल्लंघन गर्दै उनले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गतिलै जवाफ पाएका छन् । उता ओली पक्षबाट कर्णालीमा नेतृत्व गरिरहेका यामलाल कँडेलको प्रयास असफल भएको छ । उनीसँगै ओलीलाई पनि यसले सोच्न बाध्य बनाएको छ । यिनै विषयमा दुवैसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :

पार्टीभित्रको विभेदकारी नीतिलाई चुनौति ः ज्वाला
माओवादी नेतृत्वको कर्णाली सरकारको विपक्षमा मत हाल्न तपाईंको दल एमालेले ह्विप जारी गरेको थियो, तर तपाईंहरूले ह्विप किन उल्लंघन गर्नुभयो ?

पार्टीभित्रको समस्या सबै प्रस्ट छ । हाम्रो पार्टीभित्र अन्याय छ, विभेद छ । जबर्जस्ती, एकलौटी, अर्को पक्षलाई पेल्ने तरिकाले जाने जुन प्रवृत्ति छ, त्यसलाई हाम्रो चुनौती पनि हो । र, पार्टी नमिलाउँदा, पार्टीभित्रको समस्या व्यवस्थापन नगर्दा, पार्टीलाई एकताबद्ध नगर्दा पार्टीले क्षति व्यहोर्दोरहेछ भन्ने पाठ पनि नेतृत्वले सिकोस् र पार्टीलाई एकताबद्ध गर्न दबाब पुगोस् भन्ने हिसाबले अहिलेको निर्णय गरेका हौँ ।

यो कदम कर्णालीको मात्र हो कि राष्ट्रियस्तरको रणनीति पनि हो ?
राष्ट्रिय राजनीतिबाट कर्णाली अछुतो हुँदैन । हामीले केन्द्रसँग आवश्यक सरसल्लाह गरेर निर्णय गरेका हौँ । हामीलाई कर्णालीमा पनि पेलान छ, एमाले नै नठान्ने प्रवृत्ति छ, यो प्रवृत्तिविरुद्धको विद्रोह पनि हो ।

‘फ्लोर क्रस’ गर्ने तपाईंहरूको पूर्वतयारी थियो कि अन्तिम समयमा आएर नीति परिवर्तन गर्नुभयो ?
पहिलेदेखि धेरै तयारी गर्नुपर्ने विषय नै थिएन नि , यसका पृष्ठभूमि आफैँ तयार भएका थिए । हामीले छलफल गर्‍यौँ, यो निष्कर्षमा पुग्यौँ । त्यसपछि त्यसलाई कार्यान्वयनमा लग्यौँ ।

कर्णालीमा जे भयो, केन्द्रीय राजनीतिलाई अब कस्तो मार्गदर्शन गर्छ ?
कर्णालीका सन्दर्भमा हामीले आफ्नो निर्णय लिएका हौँ । यो घटनालाई राजनीतिक दलका नेताहरूले कसरी लिनुहुन्छ, बाँकी त्यसमा भर पर्छ ।

तपाईं केन्द्रीय नेता भए पनि तीन वर्षदेखि प्रदेशमा हुनुहुन्थ्यो, एमालेका केन्द्रीय नेताहरूको दिशा निर्देशन के थियो ?
आवश्यक सरसल्लाह गरेकै हो ।

तपाईंहरू फेरि पनि सरकारमा सहभागी हुने विषयमा के तयारी छ ?
त्यो विषयमा केही छलफल छैन । पदमा जाने विषय हाम्रो लागि ठूलो होइन, जनताले वामगठबन्धनलाई भोट दिएका थिए, त्यो भत्काइएको छ । फेरि मिलाउन सके हाम्रो पहल हुन्छ । तर, सबैभन्दा ठूलो प्रतीक्षाको विषय, एमालेलाई बलियो बनाउने नै हो ।

अब तपाईंहरूलाई पार्टीले कारबाही गर्ने होला, प्रदेश सभा सदस्य पद पनि गुम्ने होला ? यो जोखिम पनि लिनुभयो, होइन ?
अहिले जोखिम लिएकै हो । हामीले मन्त्री पनि छाडिदिऊँ । त्यति मात्र होइन, सांसद पदबाट पनि हामीलाई कारबाही होला । राजनीतिमा यस्ता घटना हुन्छन् । हामीलाई पदको चिन्ता छैन । उहाँहरूले कारबाही गरेर केही फरक पर्दैन, भोग्नका लागि तयार छौँ ।

चार साथीको राजनीतिक अपराध : कँडेल
माओवादी नेतृत्वको कर्णाली सरकारको विपक्षमा मत हाल्न तपाईंको दल एमालेले ह्विप जारी गरेको थियो, तर एमालेकै चार सांसदले फ्लोर क्रस गरे, यस्तो अवस्था किन आयो रु तपाईंको प्रतिक्रिया के छ ?
अपराध गर्ने कुरा त अपराध गरिसकेपछि मात्रै थाहा हुन्छ । एक घन्टाअगाडि उहाँहरू दलको बैठकमा सामेल हुनुहुन्थ्यो । उहाँहरूलाई सबै विषय बताइएको पनि थियो । सबैको सही गरेर सर्वसम्मत निर्णय पनि भएको छ । तर, उहाँहरूभित्र आपराधिक सोच रहेछ । त्यसकारण त्यो उहाँहरूको आपराधिक सोच हो । भविष्यप्रति घात हो । आजसम्मको इतिहास उहाँहरूले मेटाउनुभयो ।

एमालेभित्र विवाद छ, दुई समूह छन् भन्ने त प्रस्ट नै छ नि ? त्योबीचमा विद्रोह गर्ने र कारबाही भोग्ने त आमविषय बनेको छ, होइन र ? यसमा चारजनाले गरेको निर्णय कसरी अनौठो भयो ?
व्यक्तिले राजनीतिक निर्णय गर्न सक्छ, पार्टी अर्को रोज्न सक्छ, तर त्यसको प्रक्रिया राजनीतिक हुनुपर्छ । तर, आज उहाँहरूले जे गर्नुभयो, आजसम्म आफूहरूले गरेको योगदानसमेत समाप्त पार्नुभयो । आपराधिक सोच हो यो । नेपाली राजनीतिको एउटा झलक देखियो, त्यो पनि कर्णालीबाटै ।

तपाईंहरूका लागि यो ‘सरप्राइज मुभ’ हो कि पूर्वजानकारी वा अनुमान पनि थियो ?
अलिअलि जानकारी थियो । तर, के गर्ने ?, उनीहरू दलको बैठकमा आएका थिए । घनीभूत छलफल भएको थियो । प्रकाश ज्वालाजस्ता मान्छेलाई कसरी अविश्वास गर्नु ?

पूर्वजानकारी थियो भने उहाँहरूसँग पर्याप्त छलफल किन भएन ? समझदारी किन भएन ?
सबै विषय बैठकमा राखेका थियौँ । उहाँहरूले नै ‘फ्लोर क्रस गर्न कसैले पनि पाइँदैन’ भनेर आफैँले भन्नुभएको थियो । अरूलाई पनि ‘कन्भिन्स’ गर्ने गरी बोल्नुभएको थियो । त्यस्तो अवस्थामा समझदारी गर्नुपर्छ भन्ने प्रश्नै आएन । तर, उहाँहरू एमाले सक्ने योजनामा लाग्नुभएको रहेछ । त्यही गतिविधि गर्नुभयो । पार्टी सक्न हिँडेकाहरूसँग कसरी समझदारी गर्नु ?

फ्लोर क्रस गर्नेलाई कस्तो कारबाही हुन्छ ? सांसदबाटै निष्कासन गर्दा तपाईंहरूकै पार्टीका सांसद घट्छन् नि ?
कारबाही त हुन्छ । त्यसको लागि प्रक्रिया अगाडि बढेको छ । उहाँहरू आजैबाट एमाले रहनुभएन । सांसद संख्या त घटबढ भइरहन्छन् ।

प्रतिक्रिया दिनुहोस्