कोरोना संक्रमित संख्या चार महिना यताकै उच्च



काठमाडौँ : सक्रिय कोरोना संक्रमितको संख्या पछिल्लो चार महिनाकै उच्च देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर ५ हजार ८ जना सक्रिय संक्रमित छन् । यसमध्ये एक सय जना आईसीयू र ३८ जना भेन्टिलेटरमा छन् । पछिल्लो २४ घण्टामा एन्टिजेनसहित ६ हजार ५५८ जनाको परीक्षण गर्दा ९ महिने बालिकादेखि ९६ वर्षीय वृद्धसम्मका नौ सय जनामा संक्रमण पुष्टि भएको छ । २० देखि २९ वर्ष उमेर समूहका सबैभन्दा बढी २०५ जना संक्रमित भएका छन् ।

शुक्रबारको संक्रमण दर १४ दशमलव ७२ प्रतिशत छ । संक्रमण दर बुधबार १२ दशमलव ७२, बिहीबार १२ दशमलव ८६ प्रतिशत थियो । ‘संक्रमण दर बढेकाले सावधानी अपनाउन बारम्बार आग्रह गर्दै आएका छौं,’ मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने । शुक्रबार संक्रमित देखिएकामा ९ महिनादेखि १८ वर्षसम्मका मात्रै ६९ जना छन् । यसमा ३३ बालिका र ३६ बालक छन् । काठमाडौं, भक्तपुर र ललितपुरमा मात्रै ३२ जना बालबालिका संक्रमित भएका छन् ।

जोखिम कम गर्न मन्त्रालयले बिहीबार उपत्यकाका ३ सहित १४ जिल्लालाई अति प्रभावित सूचीमा राखेको थियो । ‘केही दिनयताको संक्रमण दरलाई आधार मानेर यी जिल्लामा विस्तार हुन नदिन अति प्रभावितमा वर्गीकरण गरेका हौं,’ उनले भने, ‘संक्रमित दर बढ्न नदिन यी जिल्लामा के नगर्ने भन्ने सूची नै सार्वजनिक गरेका छौं ।’ मन्त्रालयले यी जिल्लामा विद्यार्थी विद्यालय नपठाउन अभिभावकलाई अपिल गरेको छ । शिक्षा मन्त्रालयले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न सूचना जारी गरेको छ । कोरोनाकै कारण भक्तपुरमा ६ कक्षामा पढ्ने ११ वर्षीय बालकको ज्यान गइसकेकाले सावधानी अपनाउन र अभिभावकलाई छोराछोरी विद्यालय नपठाउन आग्रह गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘यसअघि बालबालिकामा फाट्टफुट्टमात्रै संक्रमण देखिन्थ्यो,’ डा। अधिकारीले भने, ‘दोस्रो चरणमा भने संक्रमित हुनेमध्ये बालबालिका सरदर १० प्रतिशत छन् ।’ फागुन १९ मा ८२ जना संक्रमित भेटिँदा देशभर सक्रिय संक्रमित ७ सय ६६ जनामात्रै थिए । फागुन २२ मा ४७ जना संक्रमित भेटिए । चैत दोस्रो साताबाट भने संक्रमितको संख्या बढ्दै गयो । चैत ९ मा १ हजार १७ जना सक्रिय संक्रमित थिए । चैत २५ बाट २ हजार कटेको सक्रिय संक्रमितको संख्या चैत ३० मा ३ हजार ३ सय पुग्यो । पुस २४ मा ५ हजार २१ जना सक्रिय संक्रमित थिए । त्यसयता संक्रमण घटेपछि सक्रिय संक्रमितको संख्या पनि ओरालो लागेको थियो । शुक्रबारसम्म देशभर ५ हजार ८ जना सक्रिय संक्रमित पुगेका छन् ।

यसैबीच, नेपालगन्ज मेडिकल कलेज कोहलपुरको ल्याबमा पछिल्लो २४ घण्टामा ४५ जनाको स्वाब परीक्षण गर्दा ४५ जनाकै रिपोर्ट पोजिटिभ देखिएको छ । संक्रमित २३ जना पुरुष र २२ जना महिला छन् । २० देखि ४० वर्ष उमेर समूहका २४ जना संक्रमित भएको कलेजले जनाएको छ । बिहीबार पनि ३५ जनाको परीक्षण गर्दा ३५ जनाकै रिपोर्ट पोजिटिभ देखिएको थियो । यस्तै, भेरी अस्पतालमा १८३ जनाको स्वाब परीक्षण गर्दा १४० जनामा कोरोना पुष्टि भएको छ । संक्रमित नेपालगन्ज उपमहानगरपालिकाका मात्रै ८७ जना छन् । संक्रमितमध्ये २० वर्षभन्दा कम उमेरका २२ जना छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्वाब परीक्षणका आधारमा सबैभन्दा बढी संक्रमण लुम्बिनी प्रदेशमा देखिएको छ । लुम्बिनीमा ५६२ जनाको परीक्षण गर्दा २४८ जना अर्थात् ४४ दशमलव १२ प्रतिशतमा कोरोना देखिएको छ । प्रदेश १ को ९ वटा प्रयोगशालामा ३३० जनाको स्वाब परीक्षण गर्दा ३५ जना अर्थात् १० दशमलव ६० प्रतिशत संक्रमित पाइएको छ । प्रदेश २ का ४ वटा ल्याबमा ११४ को परीक्षण गर्दा ४९ जना अर्थात् ४२.९८ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । वाग्मतीमा ४ हजार ६७ जनाको परीक्षण हुँदा ४२७ जना अर्थात् १० दशमलव ४९ प्रतिशत संक्रमित भेटिएका छन् । गण्डकीमा ३४९ परीक्षण गर्दा ४६ जनामा संक्रमण पाइएको छ । कर्णालीमा शुक्रबार संक्रमित हुनेको संख्या शून्य छ । सुदूरपश्चिममा ६९ जनाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्