अब संघीय सरकार पनि परिवर्तन हुन्छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकार मात्रै नभएर संघीय सरकार परिवर्तनको तीव्र तयारी भइरहेको बताएका छन् ।
शैक्षिक अभियान तथा दोस्रो र तेस्रो संयुक्त प्रदेश परिषद् उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कर्णाली त भइसक्यो । तपाईहरूले पनि देख्नुभएको छ । हामीले गण्डकी र लुम्बिनी प्रदेशमा पनि नयाँ सरकार गठनको प्रक्रियामा छौँ । प्रदेशमा मात्रै नभएर केन्द्रीय सरकार परिवर्तनको लागि पनि यहाँबाट सिधै त्यही छलफलमा जानुपर्ने छ ।’
पार्टी एकताको विचार र भावनालाई प्रभावकारी बनाएर समाजवादको लक्ष्यमा लाग्दा ठूलो षड्यन्त्र भएको बताए ।
उनले भने, ‘केपीले पार्टी विभाजन गर्नतिर पहिल्यैदेखि लागेका थिए । हामीले नचाहँदा नचाहँदै अहिलेको अवस्थामा आयो । मेरो अध्यक्षतामा पहिलो केन्द्रीय समितिको बैठक बसेपछि त्यो प्रभावकारी भयो । ९५ प्रतिशतले त्यसको नेता भेटियो भनेका थिए । ओली गुटको बाहेकले त्यसलाई स्वीकार गरेनन् र त्यहीबाट गुटबन्दीमा लागिरहे ।’
ओलीको प्रतिगमनकारी कदमलाई सबै लागेर परास्त गरेको उनले बताए । अलिकति मात्रै नैतिकता भए ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने उनले बताए ।
उनले भने, ‘केन्द्रीय समितीको बैठक बसेर ७० प्रतिशत बहुमतका साथ कारवाही गरेको थियौँ । त्यो आधिकारिक वैधानिक थियो । पुरानो नजिरलाई हेर्दा ५० प्लस एक हुनासाथ त्यो बहुमत हुन्छ । तर, हामीलाई अविलम्ब पार्टीको आधिकारिकता दिन माग गर्दा समेत परसम्म पुग्नेगरी टारियो ।’
ओली बहुमतको साथ दल नेताबाट हटाएपछि संवैधानिक र कानुनी रुपमा ओली प्रधानमन्त्रीबाट हट्नुपर्ने उनले बताए । ‘संसदीय दलको नेताबाट हटाएको सचिवालयमा दर्ता गरेर फर्किदै गर्दा अदालतले अर्को राजनीतिक निर्णय गरिदियो । जसमा पार्टी दुईवटा बनाइदियो’ उनले भने ।
कम्युनिष्ट एकता गरेर समाजवादको लक्ष्यमा जान खोज्दा ओली षड्यन्त्र गरेर भाडभैलो मच्चाएको आरोप लगाए । पार्टी एकता गरेर गल्ती नगरेको भन्दै अहिले पनि वामपन्थी एकतालाई एकजुट बनाएर जानेतर्फ रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्