शहरी क्षेत्रका विद्यालय बैशाख मसान्तसम्म बन्द गर्न सिफारिस



काठमाडौं । कोभिड – १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सरकारलाई सिफारिस भएको छ ।
तर विद्यालयको पठन–पाठन भने पूर्णरुपमा बन्द नगरी अनलाइन माध्यमबाट पढाउनुपर्नेछ । यस्तै परीक्षाहरु पनि सुचारु हुनुपर्ने सीसीएमसीको प्रस्ताव छ ।
सीसीएमसीको शनिबार सिंहदरबारमा बसेको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको कृषिमन्त्री पद्मा अर्यालले जानकारी दिइन् । बैठकले शहरी क्षेत्रबाहेक अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने निर्णय गरेको छ ।
यसैबीच सरकारले कोरोनासम्बन्धी नयाँ स्वास्थ्य मापदण्ड जारी गर्ने भएको छ । बैठकमा नयाँ मापदण्डबारे प्रस्ताव आएको र त्यसलाई अन्तिम रुप दिएर मन्त्रिपरिषद्ले स्वीकृत गर्ने परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।
पछिल्लो समय देशभर कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि पुनः कडाइ गरिनुपर्ने आवाज उठ्दै आएको छ भने विद्यालयहरुमा विद्यार्थी धमाधम संक्रमित भएपछि स्वास्थ्य मन्त्रालयले नै बन्द गरिनुपर्ने बताउँदै आएको छ । तर, सरोकारवालाले स्वास्थ्य मापदण्डलाई पालना गरेर विद्यालय खोल्नुपर्ने अडान लिँदै आएपछि सरकारले निर्णयमा समेत अलमल गर्दै आएको थियो । सीसीएमसीले गरेको सिफारिस भने मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्र लागू हुनेछ ।
सीसीएमसीका सचिव खगराज बरालले शैक्षिक संस्थाहरु पूर्णरुपमा बन्द हुने अर्थमा यो सिफारिसलाई बुझ्न नमिल्ने बताए । विद्यालयहरूले अनलाइन कक्षाहरू सञ्चालन गर्नुपर्ने र परीक्षाहरु पनि नरोकिने उनले बताए । शैक्षिक संस्थाहरु पूर्णरुपमा बन्द गर्दा मेडिकल कलेजका विद्यार्थीलाई पर्न सक्ने असरका विषयमा पनि सीसीएमसीले ध्यान दिएको उनले बताए । उनका अनुसार शनिबारको बैठकमा खासगरी स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्डसम्बन्धी प्रस्तावमाथि छलफल भएको छ ।
यसैगरी सीसीएमसी बैठकले डान्सबार र दोहोरी साँझहरु अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गर्नुपर्ने निश्कर्ष निकालेको छ । बैठकले डान्सबार र दोहोरी साँझ बन्द गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
रेष्टुरेन्टहरुको हकमा भने सुरक्षा मापदण्ड अपनाएर राति १० बजेसम्म खोल्न दिने र त्यसपछि भने बन्द गर्नुपर्ने सीसीएमसीको सिफारिस छ । यसअघि स्वास्थ्य मन्त्रालयले गत चैत २५ गते जारी गरेको अपीलमा राति ९ बजेपछि रेष्टुरेन्टहरु बन्द गर्न अपील गरिएको थियो । त्यसैगरी बैशाख २ गते मन्त्रालयले जारी गरेको अर्को अपीलमा काठमाडौं लगायत १४ जिल्लालाई अति जोखिमयुक्त घोषणा गर्दा यी जिल्लाहरुमा भीडभाड हुने क्षेत्रमा नजान सर्वसाधारणलाई अपिल गरिएको थियो । यी जिल्लाहरुमा विद्यालयमा समेत नजान भनिएको थियो ।
‘रात्री क्लबहरु, डान्सबार र दोहोरी साँझमा मानिसहरुले ड्रिंक्स गर्छन्, सुरक्षा सावधानी पनि अपनाइँदैन,’ सीसीएमसीका एक अधिकारीले भने, ‘यस्ता मनोरञ्जनका क्षेत्रहरु बन्द गर्दा जनजीवनमा प्रत्यक्ष असर नपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्न क्याबिनेटसमक्ष सिफारिस गर्ने निर्णय भएको हो ।’
रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोरहरु, पसल व्यवसायलगायत भिडभाड हुने स्थानहरुमा हालका लागि स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड अपनाउनुपर्ने सीसीएमसीको निश्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्