प्रधानमन्त्री बन्न म लालायित छैन : देउवा



काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि आफू लालायित नभएको बताएका छन् । आफ्नै निवास बुढानीलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ विमोचन गर्दै आइतबार उनले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको तर कांग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा पछि नहट्ने बताए ।

नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निहुँ नखोज्ने पनि सभापति देउवाले बताए । ‘प्रचण्डजीहरुले समर्थन फिर्ता लिनुभएको छैन । त्यस मानेमा बहुमतकै सरकार छ अहिले । बहुमतको सरकार भएको बेलामा हामीले अरु कुनै कुरा सोच्ने कुरा छैन,’ उनले भने, ‘त्यसकारण हामीले बहुमतकै सरकार मानेका छौं । बहुमतको सरकारमा हामीले निहुँ खोज्ने कुरा छैन । हामीलाई प्रधानमन्त्री चाहियो भनेर मरिमेट्ने कुरा पनि छैन ।’

सभापति देउवाले वर्तमान राजनीति तरल अवस्थामा रहेकाले स्थिति यतै जान्छ भनेर भन्न सक्ने अवस्था नरहेको बताउँदै सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिसकेपछि संसदीय व्यवस्था अझै सुदृढ हुने विश्वाससमेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्