एमालेले बिहीबार पार्टी कार्यालय सार्दै



काठमाडौं । नेकपा एमालले वैशाख ९ गते बिहीबार पार्टी कार्यालय सार्ने भएको छ । हाल धुम्बाराहीमा रहेको एमाले मुख्यालय थापाथलीस्थित भाडाको घरमा सार्न लागिएको हो । सोअी दिन बल्खुमा नयाँ कार्यालय भवनको शिलान्यास गर्ने तयारी रहेको छ ।
एमालेको पार्टी कार्यालय हाल पासाङल्याह्मु स्मृति भवन धुम्बाराहीमा रहेको छ । २०७२ वैशाख १२ र २९ गतेको भूकम्पले बल्खुको चारतले भवन भत्किएपछि एमालेको कार्यालय सोही वर्ष साउन २३ गते धुम्बाराही सारिएको थियो ।
थापाथलीस्थित अहिलेको भवन सांसद मोतीलाल दुगडले खोजेका हुन् । उक्त घर व्यापारी सञ्जय अग्रवालको हो । एमालेले यसअघि धुम्बाराहीमा मासिक एक लाख ५० हजार रुपैयाँ तिर्ने गरी भाडामा लिएको थियो । अहिले भाडाबापत रकम भुक्तानी गर्नु नपर्ने दुगडले जानकारी दिए । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत चैत ११ गते थापाथली सर्न लागेको घरको निरीक्षणसमेत गरेका थिए ।
भूकम्पले पार्टी कार्यालय ध्वस्त बनाएपछि एमालेले बल्खुमै अत्याधुनिक भवन बनाउने भनेर समिति नै बनाएको थियो । भवन निर्माण समितिले भवनको डिजाइन तयार पारेर रकमसमेत उठाएको थियो ।
धुम्बाराहीमा भवन सारेपछि त्यसैलाई स्थायी कार्यालयजस्तो बनाइएको थियो । माओवादी केन्द्रसँग पार्टी एकता गरेको दुई वर्षपछि पार्टी कार्यालय आवश्यकता महसुस गरेर गत माघमा सम्पन्न केन्द्रीय कमिटी बैठकले १५ दिनभित्र पार्टी कार्यालय शिलान्यास गर्ने निर्णय गरेको थियो ।
सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले एकता रद्द गरिदिएपछि एमाले पार्टी कार्यालय शिलान्यास गर्न जुर्मुराएको हो ।

प्रतिक्रिया दिनुहोस्