नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को बैठक आज



काठमाडौं : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को आज छुट्टाछुट्टै बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको महाधिवेशन आयोजक समितिको बैठक बोलाएका छन् भने पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको स्थायी समितिको बैठक बोलाएका छन । दुवै बैठकले गर्ने निर्णयप्रति राजनीतिक वृत्तमा चासो बढेको छ ।

माओवादी केन्द्रले समसामयिक राजनीतिक विषयमा छलफल गर्न दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाएको छ । बैठकमा समसामयिक राजनीति र पार्टीको आगामी योजनाबारे छलफल हुने केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सत्ता समीकरणको प्रयासबारे बैठकमा छलफल हुने माओवादी नेताहरु बताउँछन् ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया भंग गर्दै माओवादी केन्द्र व्युँताइदिएपछि अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बदल्ने प्रयत्नमा छन् । तर, नयाँ सरकार निर्माणको समीकरण बन्न नसक्दा माओवादीले सरकारबाट समर्थन भने फिर्ता लिन सकेको छैन । समर्थन फिर्ता नलिँदा नयाँ सरकार बन्न नसकेको भनेर प्रतिपक्षी दलका नेताहरुले माओवादीको आलोचना गर्दै आएका छन् ।

उता एमालेबाट माधवकुमार नेपाल र झलनाथ खनाल समूहले गरिरहेका कामकारबाहीविरुद्ध कडा कदम चाल्न ओलीले महाधिवेशन आयोजक समिति बोलाएको र कठोर निर्णय लिनसक्ने एक नेताले बताए । हिजो मात्रै एमाले अनुशासन आयोगका प्रमुख अमृतकुमार बोहराले ओलीलाई पत्र लेखी आजको बैठक स्थगित गर्न एकताको पहल गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्