सरकारले संसदको मानमर्दन गर्‍योः नेता सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले हठातमा संसद स्थगित गरेर संसदको मानमर्दन गरेको बताएका छन् ।
संसद फेस गर्न नसकेर पटक पटक संसदमाथि प्रहार गरेकोप्रति आपत्ति जनाउँदै उनले अलोकतान्त्रिक कदम उठाउने सरकारले फेरि पनि संसदीय व्यवस्था माथि अर्को प्रहार गरेको बताए ।
नेता सिंहले एकपछि अर्को अलोकतान्त्रिक चरित्र सरकारले देखाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने प्रयास समेत जारी राखेको आरोप लगाए ।
नेपाल प्रेस युनियन काठमाडौं शाखाले सोमबार काठमाडौंमा आयोजना गरेको नवनिर्वाचित पत्रकार महासंघका पदाधिकारी सम्मान कार्यक्रममा बोल्दै नेता सिंहले ओली नेतृत्वको सरकारले प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने प्रयास गरिरहेको र हामी सबै मिलेर त्यसको प्रतिवाद गर्नुपर्ने बताए ।
नेता सिंहले भने, ‘ओली सरकारले प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने प्रयास गरिरहेको छ । सबै मिलेर प्रतिवाद गर्नुपर्छ ।’
फरक प्रसङ्गमा नेता सिंहले कोरोना नियन्त्रणमा सरकार उदासिन भएको पनि बताए । साथै नेता सिंहले अब देशलाई निकास दिलाउन नेपाली काग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष बिपुल पोखरेलले सरकारका प्रेस विरोधी कदमविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताए । कार्यक्रममा पूर्वअर्थ राज्यमन्त्री उदय समशेर राणा, काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी लगायतले राखे ।

प्रतिक्रिया दिनुहोस्