त्रिकोणात्मक सिरिजमा नेपालको विजयी यात्रा जारी



काठमाडौँ । कुशल भुर्तेल र आसिफ शेखले लगातार दोस्रो खेलमा सानदार ब्याटिङ गरेपछि नेपालले त्रिकोणात्मक ट्वान्टी–२० शृंखला क्रिकेटमा सोमबार मलेसियालाई ९ विकेटले पराजित गरेको छ ।
कुशल र आसिफले पहिलो विकेटमा १ सय २ रनको साझेदारी गरेपछि मलेसियाले छाडेको १ सय १० रनको मध्यम चुनौतीलाई १२.१ ओभरमै पुरा गरे ।
नेपाललाई लगातार दोस्रो जित दिलाउनेक्रममा कुशलले अविजित ६१ र आसिफले ४२ रन बनाए । नेपाल विजयको नजिक पुगेपछि आउट भएका आसिफले २९ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । कुशलले ४१ बल खेली ३ चौका र ५ छक्का प्रहार गरे । दीपेन्द्र ६ रनमा अविजित रहे ।
यसअघि टस हारेपछि ब्याटिङमा आएको मलेसिया १६.५ ओभरमै अलआउट भएको थियो । करण केसीले ३ विकेट लिँदै मलेसियालाई धरासायी बनाए । करणले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले ३.५ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र शाहब आलमको नाममा १–१ विकेट रह्यो ।
मलेसियाबाट ओपनर सैयद अजिजले सर्वाधिक २७ रन बनाए । उनले २४ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । कप्तान अहमद फेज ३ रनमा रनआउट हुनु मलेसियाको दुर्भाग्य रहयो । उनलाई विकेटकिपर विनोद भण्डारी र करणले मिलेर रनआउट गरे ।
सर्भिन मनिआन्डीले २० र सफिक सरिफले १५ रन बनाए । दोस्रो जितेपछि नेपालको फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ । राउन्ड रोबिनमा एकले अर्को टोलीसँग २–२ खेल खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्ने छ ।
नेपालले मंगलबार नेदरल्यान्ड्ससँग खेल्ने छ । मलेसियाले दुबै खेल हारेको छ । नेदरल्यान्ड्सले २ खेलमा १ मा विजय र १ मा पराजय भोगेको छ ।

प्रतिक्रिया दिनुहोस्