माधव नेपालसहित ८ जनालाई अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय



काठमाडौं । नेकपा एमालले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्न लगाउने र गर्नेलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमालेको दशौं महाधिवेशन आयोजक कमिटी बैठकले यसअघि निलम्बनमा परेका नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, प्रकाश ज्वालालगायत फ्लोर क्रस गर्न लगाउने र गर्ने ८ जनालाई दुई दिनभित्र स्पष्टिकरण माग गर्ने निर्णय गरेको हो ।
यसअघि पार्टीले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेर कारवाही गरिसकेको छ ।
उनीहरुलाई पनि अझै अन्तिम स्पष्टीकरण दिन समय दिइने भएको छ । सोमबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेपाल, रावल, पाण्डे र भुसालसहित ८ जनालाई चेतावनीसहित स्पष्टीकरण सोध्न निर्णय गरेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
नेपालसहित विभिन्न प्रदेशका सरकारविरुद्ध प्रत्यक्ष अप्रत्यक्ष सहभागी भएका नेताहरुलाई अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनीहरुबाट चित्त बुझ्दो जवाफ नआए वैशाख १० गते बस्ने केन्द्रीय कमिटी बैठकले कारवाही गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्