कोरोना संक्रमणबाट पर्सामा पुरुषको मृत्यु



पर्सा । कोरोना सङ्क्रमणकै कारण पर्सामा मंगलबार फेरि एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । भारतबाट केही दिन अगाडि नेपाल फर्किएका वीरगञ्ज महानगरपालिका–१४ बहुवरी निवासी ५७ वर्षीय पुरुषको वीरगञ्जको नारायणी वयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
भारतबाट फर्किएलगत्तै बिरामी भएका पुरुषलाई उपचारका लागि चैत २९ गते अस्पताल भर्ना गरिएको र सोही दिन उनको आरडिटी पिसिआर रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले जानकारी दिए । उनले श्वासप्रश्वासमा समस्या, उच्च ज्वरो र कडा निमोनियाबाट मृतक ग्रस्त रहेको बताए ।
बितेको एक साताभित्र पर्सामा चार पुरुष र एक महिला सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । यससँगै पर्सामा सङ्क्रमणकै कारण मृत्यु भएको सङ्ख्या ५८ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्