सिंगो नेपाललाई नेपालगन्जको सन्देश



रुघाखोकीसँगै ज्वरो आउने, शरीर दुख्ने र झाडापखाला लाग्ने भएपछि बर्दियाको मधुवन नगरपालिका– ५ तारातालका तुलबहादुर गुरुङदम्पतीले बुधबार कोरोना परीक्षणका लागि स्वाब दिएका थिए । बिहीबार मोबाइलमा संक्रमण रहेको रिपोर्ट आएपछि उनीहरू साँझ ७ बजे हतारिँदै नेपालगन्जस्थित भेरी अस्पताल पुगे । तर, राति ११ बजेसम्म बेड पाएनन् ।

अस्पताल पुगेपछि उनीहरूले बेडका लागि चिकित्सक, स्टाफ नर्स र अन्य स्वास्थ्यकर्मीसँग हारगुहार गरे । तैपनि व्यवस्था हुन सकेन । किनभने, संक्रमितले अस्पतालका बेड भरिएका छन् । आइसोेलेसन कक्षबाहिर राखिएको बेडमा पत्नीसहित बसेका गुरुङले नयाँ पत्रिकासँग भने, ‘सास फेर्न गाह्रो भइरहेको छ । लौन सर सक्नुहुन्छ भने बेड मिलाइदिनुप¥यो । हामीलाई गाह्रो हुन थालेको छ ।’ बेड कुर्दै उनीहरू राति ११ बजेसम्म आइसोलेसन कक्ष बाहिरै थिए ।

बर्दियाकै बारबर्दिया नगरपालिकाकी सिर्जना गिरी सुवेदीले तीन घन्टाको पर्खाइपछि बल्ल आइसोलेसनमा बेड पाइन् । ‘स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । बेड नपाएरै बितिन्छ कि भन्ने भइसकेको थियो, बल्लबल्ल पाइयो,’ सुवेदीका आफन्त सौरभ गिरीले भने ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। प्रकाशबहादुर थापाले बिरामीले बेड भरिएको बताए । उनका अनुसार आइसोलेसनको कुनाकाप्चामा समेत बेड राखेर उपचार भइरहेको छ । ‘आइसोलेसनमा खुट्टा राख्ने ठाउँसमेत छैन । अब जटिल प्रकृतिका बिरामीलाई पनि भर्ना गर्न सक्ने अवस्था छैन,’ उनले भने ।

भेरी अञ्चल अस्पतालका आइसोलेसन वार्डका सबै बेड बिरामीले भरिएका छन् । अब थप बिरामी भर्ना गर्न नसकिने जनाउ अस्पतालले दिएको छ ।
भेरि अस्पतालमा एक सय ४२ आइसोलेसन बेड छन् । त्यस्तै, ३५ आइसियू र सात भेन्टिलेटर सुविधा छ । अहिले सबै भरिएका छन् । संक्रमण तीव्र गतिमा बढिरहेकाले अहिलेको भन्दा जटिल अवस्था आउन सक्ने डा। थापाको अनुमान छ । ‘योभन्दा जटिल अवस्था आउने सम्भावना छ । सबैले वेलैमा ध्यान पु¥याउनुपर्ने देखिन्छ,’ उनले भने, ‘भेरी अस्पतालले मात्र धान्न सक्ने अवस्था छैन ।’

उता कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा पनि आइसोलेसन बेडदेखि भेन्टिलेटरसम्म सबै भरिएका छन् । अस्पतालमा कोरोना संक्रमितका लागि ८० आइसोलेसन बेड, १५ आइसियू र ६ भेन्टिलेटर छुट्याइएका छन् । सबै भरिएपछि बिरामी भर्ना लिन बन्द गरिएको आइसोलेसन वार्डका इन्चार्ज दिनेश श्रेष्ठले बताए ।

संक्रमितको संख्या निकै बढेको छ, सबै बेड भरिएका छन् । यही वेला आज ९बिहीबार० मात्र १५ जना संक्रमित थपिएका छन् । उनीहरूलाई कहाँ राख्ने हो, टुंगो छैन,’ श्रेष्ठले भने, ‘अब हामीले हात उठाउन मात्र बाँकी छ ।’

बाँकेमा संक्रमितको संख्या तीव्र गतिमा थपिँदै गएको छ । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेजबहादुर ओलीका अनुसार बिहीबार मात्रै तीन सय ८८ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाभरि एक हजार दुई सय ६६ सक्रिय संक्रमित छन् । अस्पतालमा भर्ना भएकाबाहेक केहीलाई राँझा विमानस्थलनजिकैको ह्वाइटहाउस आइसोलेसन सेन्टरमा राखिएको छ भने केही होम आइसोलेसनमा छन् । यो समाचार आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस्