वैशाखमै पहिरो : सात पशु पुरिए, बस्ती जोखिममा



ओखलढुङ्गा : पहिरोले ओखलढुङ्गामा वितण्डा मच्चाएको छ । सामान्यतया असार/साउन महिनामा पहिरोले क्षति गर्ने भए पनि ओखलढुङ्गाको चम्पादेवीमा यस वर्ष वैशाखमै पहिरो गएको हो ।

शनिबार साँझ भएको वर्षापछि आएको पहिरोले चम्पादेवी गाउँपालिका–३ सिल्खुबेँसीमा सात चौपाया पुरिएर मरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिए । प्रहरीका अनुसार सिल्खुबेँसीका हरिप्रसाद सुवेदीको तीनवटा गाई, मोहन मगरको दुईवटा गोरू र मुनामाया बोगटीको दुईवटा गाई पहिरोमा पुरिएर मरेका छन् ।

सिल्खुमाथि खनेको कच्ची सडक र खहरेमा जम्मा भएको भेल बाढीको रूपमा गएपछि स्थानीयवासीका घर, गोठ र खेत बगाएको हो । सिल्खुको विद्यालय, स्थानीयवासीका घर र कृषिबालीमा समेत क्षति पुगेको छ । अचानक भएको वर्षाका कारण बाढीपहिरो आउँदा पशुचौपाया बगाएको, खेतबारीमा लगाएको बालीमा क्षति भएको भन्दै स्थानीय किसानले क्षतिको यकिन गरेर क्षतिपूर्ति दिन माग गरेका छन् । ओखलढुङ्गामा जथाभावी खनिएका कच्ची सडकका कारण पहिरो बगेर बर्सेनि ठूलो जनधनको क्षति हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्