पश्चिम बंगालमा भएको हिंसामा १७ जनाको मृत्यु



कोलकता । भारतको पश्चिम बंगालमा चुनावी नतिजापछि भएको हिंसामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । बितेको २४ घण्टामा राज्यका विभिन्न क्षेत्रमा थप तीनजनाको मृत्यु भएसँगै मृतकको संख्या १७ पुगेको हो ।
भारतीय जनता पार्टीले मृतक मध्ये ९ जना आफ्ना कार्यकर्ता रहेको दाबी गरेको छ भने तृणमुल कांग्रेसले आफ्ना ७ कार्यकर्ताको भाजपाले आक्रमण गरि हत्या गरेको आरोप लगाएको छ ।
मृतक मध्ये एकजना इण्डियन सेक्युलर फ्रन्टका कार्यकर्ता रहेको बताइएको छ । यसैबीच राज्यका केही क्षेत्रमा तोडफोड र आगजनीका घटना पनि सार्वजनिक भएका छन् ।
सरकारी आँकडामा बंगालका अलग अलग क्षेत्रमा भएका हिंसाका घटनामा १७ जनाको मृत्यु भएको उल्लेख छ ।
यसैबीच बिजेपी अध्यक्ष जेपी नड्डा अहिले कोलकातामा छन् । उनले मंगलबार साँझ यो हिंसामा मारिएका पार्टीका दुई कार्यकर्ताको घरमा पुगेर परिवारका सदस्यसँग कुराकानी गरेका छन् ।
अर्काेतर्फ ममता बनर्जीले बिजेपीले विधानसभा चुनावमा आफ्नो लज्जास्पद हार पचाउन नसकेको आरोप लगाएकी छन् । हारपछि बिजेपीले साम्प्रदायिक हिंसा भड्काएर राष्ट्रपति शासन लागु गराउने प्रयास गरिरहेको उनको आरोप छ ।
मंगलबार पूर्व मेदिनीपूरका साथै पश्चिम मेदिनीपुर, बिरभूम, जलपाइगुडी तथा दक्षिण दिनाजपुरमा हिंसा भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्