अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्च अदालतको आदेश



काडमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले शुक्रबार सो आदेश दिएको हो । कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहेका दीप बस्न्यातको तर्फबाट प्रज्वल अधिकारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गरेको घटनामा संलग्नको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा तत्कालिन भौतिक पूर्वाधार मन्त्रालयका सचिव बस्न्यातलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
तर बस्न्यातले आफ्नो उमेर ६९ वर्ष पुगेको, मुटुको बिरामी रहेको र कोरोना संक्रमण पनि भएकाले मानवीय दृष्टिले थुनामुक्त गर्न आदेश माग गर्दै बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
सर्वोच्चका दुई न्यायाधीशको इजलासले बस्न्यातलाई यस अवस्थामा थुनामा राख्नु मानवीय दृष्टिले अनुति हुनुका साथै तत्काल प्राप्त प्रमाणका रोहमा बेमुनासिव र अनुपयुक्त देखिएको भन्दै थुनामा राख्ने विशेष अदालतको २०७७ मंसिर २८ गतेको आदेश बेरीतको देखिएको भन्दै बदर गरिदिएको हो ।

प्रतिक्रिया दिनुहोस्