राष्ट्रपतिको संकल्पमा पशुपतिमा ११ दिन क्षमा पूजा सुरु



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको संकल्पमा अक्षया तृतीयाको दिन पारेर शुक्रबारदेखि पशुपतिनाथ मन्दिर र वासुकीनाथ मन्दिरमा ११ दिने क्षमा पूजा सुरु गरिएको छ । राष्ट्रपति कार्यालयमामा बिहीबार संकल्प गरेपछि पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापा मूलकर्ता बनेर उक्त पूजा सुरु गरेका हुन् ।
विश्वशान्ति, राष्ट्रकल्याण र मानवजीवनका लागि राष्ट्रपति भण्डारीले क्षमा पूजाको संकल्प गरेकी हुन् । संकल्पका क्रममा भण्डारीले विश्वव्यापी कोभिडका कारण नेपालमा पनि मानवीय क्षति भएको भन्दै चासो र चिन्ता व्यक्त गरेको कोषाध्यक्ष थापाले जानकारी दिए ।
नेपालमा विगतदेखि नै महामारी हुँदा पूजा गर्ने प्रचलन छ । कोषको ३५औं वार्षिकोत्सव अवसर पारेर शुक्रबारदेखि जेठ १० गतेसम्म क्षमा पूजा गरिने भएको हो । थापाले भने, ‘विज्ञानले आविष्कार गरे पनि त्यो प्रकृतिसँग जोडिएको हुन्छ । विज्ञान प्रविधि भनेकै दैवीशक्तिको सारथी हो । प्रकृति सहज भएमात्र विज्ञानका उपलब्धीहरू पनि सार्थक बन्छन् । त्यसैले प्रकृति खुसी पार्न यो पूजा गरिएको हो ।’
११ दिने क्षमा पूजाले कोभिड महामारी धनजनको क्षति न्यूनीकरण हुने र प्राकृतिक वातावरण स्वच्छ हुने थापाको भनाइ छ । उनका अनुसार यो अवधिमा पाशुपत क्षेत्रका सबै मठमन्दिरमा विशेषपूजा हुनेछ । पशुपतिनाथको गर्भगृहमा मन्दिरमा मूलभट्ट गणेश भट्टले पूजापाठ र जप गर्नेछन् भने मन्दिरमा पशुपतिकै पुजारी दिवाकर आचार्यको नेतृत्वमा १८ जना पूरोहितले हरेक दिन बिहान पूजाआजा गर्नेछन् ।
धार्मिक मान्यता अनुसार महामारीको संकटको घडीमा सबै भैरव र देवीहरूको पूजाआजा गर्नु उत्तम हुन्छ । डा. थापाले शुक्रबार शितलामाईको समेत पूजा गरेको बताउँदै भने, ‘यो क्षमा पूजाले प्रकृतिमा भएका किटाणु र भाइरस मार्छ । मानवीय संकट र क्षति भएको बेला यो पूजाले मानवमनमा आत्मविश्वास पनि बढाउँछ ।’
क्षमा पूजाको अन्तिम दिन पूर्णाहुती यज्ञ लगाइने छ । जसमा पशुपतिनाथका मूलभट्ट, वासुकीनाथका भट्टसमेत पाँचैजना भट्ट, ११ जना ब्राह्मणले रुद्रीपाठ, महामृत्युञ्जय जप, चण्डी पाठ, गणेश सहस्रनाम, विष्णु सहस्रनाम, आदित्य सहस्रनाम लगायत गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्