फिल्म ‘पा’ मा अमिताभ बच्चनकी साथी ‘रसना गर्ल’ जसलाई आफ्नो मृत्युबारे पूर्वाभास थियो



मुम्बई : के तपाईं पत्याउनु हुन्छ, एउटी १४ वर्षीया किशोर अभिनेत्रीलाई आफ्नो मृत्युको पूर्वाभास थियो भनेर? कुरा सन् २००९ मा प्रदर्शित फिल्म ‘पा’ मा मेगास्टार अमिताभ बच्चनको साथीको भूमिका निर्वाह गर्ने ‘रसना गर्ल’ अर्थात् तरुणी सचदेवको हो।

सन् २०१२ मे १४ मा नेपालको जोमसोम विमानस्थलमा भएको अग्नी एयरको डोर्नियर विमान दुर्घटनामा तरुणीले जन्म दिनकै दिन ज्यान गुमाइन्। भारतमा विख्यात ‘रसना’ सर्बतको विज्ञापनमा ‘आई लव यू रसना’ संवादले उनलाई ‘रसना गर्ल’ उपनाम नै दिएको थियो तरुणी सचदेवलाई। त्यसपछि दर्शकले उनलाई तरुणी सचदेवको साटो ‘रसना गर्ल’ नै भनेर चिन्ने गर्थे।

साथीभाइसँग मागिन् ‘अन्तिम बिदा’ 

उनी आमा गीतासँग सन् २०१२ मे ११ मा नेपाल यात्रामा गएकी थिइन्। यात्रामा निस्कनुअघि उनले आफ्ना सबै साथीभाइसँग भेट गरिन्, त्यो पनि अँगालो मारेर। छुट्टिने बेलामा उनलाई के भयो कुन्नी, उनले मजाक गर्दै भनिन्, ‘तिमीहरूसँग यो मेरो अन्तिम भेट हो।’

उनका साथीभाइको भनाइमा त्यसअघि उनले कहिल्यै पनि त्यसरी सबैसँग अँगालो मारेकी थिइनन्, न त यसरी यात्रामा निस्कँदा अलबिदा नै भनेकी थिइन्। हिँड्ने बेलामा उनले ‘उडानका बेला प्लेन क्र्यास भयो भने……. आई लव यू’ भनेर गएको उनका साथीहरू सम्झन्छन्। उनीहरू अग्नी एयरको त्यो दुर्घटनाग्रस्त विमानमा निधन हुनु तरुणीको भाग्यमा नै लेखिएको मान्छन्। जोमसोम यात्रामा गएकी उनी फेरि कहिल्यै फर्किइनन्।

छोटो जीवन यात्रा

भारतीय मोडल र बाल अभिनेत्री तरुणी मुम्बईमा सन् १९९८ मे १४ मा जन्मिएकी थिइन्। उनका बुवा उद्योगपति हरेश सचदेव हुन् भने आमा गीता सचदेव हुन्। उनी मुम्बईमा अध्ययनरत थिइन्। उनकी आमा गीता मुम्बईस्थित इस्कोनको राधा गोपिनाथ मन्दिरको भक्त मण्डलीकी सदस्य थिइन्। उनी पनि मन्दिरमा मनाइने पर्व, उत्सवमा हुने कैयौं नाटकमा भाग लिन्थिन्।

तरुणीले ५ वर्षकै उमेरमा अभिनय यात्रा थालेकी थिइन्। आफ्ना समकालीन बाल कलाकारमध्ये उनी नै सर्वाधिक कमाउने र सबैभन्दा बढी व्यस्त कलाकार थिइन्। उनले अभिनय गरेको पहिलो विज्ञापन ‘रसना’बाट उनले प्रसिद्धी पाइन्।

जन्मेकै दिन मृत्यु

कस्तो अचम्म जन्मेकै दिन अर्थात् मे १४ मा नै उनको मृत्यु भयो। नेपालको मुस्ताङ जिल्लाको अग्नी एयरको २१ जना सवार डोर्नियर विमान जोमसोम विमानस्थलमा दुर्घटना हुँदा उनको निधन भयो। त्यस दिन उनको १४ आ‌ैं जन्म दिन थियो। उनी आमा गीतासँग विमानमा थिइन्। उनीसँगै आमा गीताको पनि निधन भयो।

विमान चिप्लिएर बिहान ९ः४५ बजे दुर्घटनाग्रस्त भएको थियो। ३ जना चालक दल र १८ जना यात्रुमध्ये १३ जना यात्रु र चालक दलका २ जनाको मृत्यु भएको थियो। विमानमा १६ जना भारतीय र २ जना डेनिस यात्रु थिए। विमानमा सवार २१ जनामध्ये ६ जना भने बाँच्न सफल भए।

अभिनय यात्रा

तरुणीले रसना, कोल्गेट, आइसिआइसिआई बैंक, रिलाइन्स मोबाइल, एलजी, कफी बाइट, गोल्ड विनर, शक्ति मसलालगायत अनगिन्ति वस्तुका टेलिभिजन विज्ञापनमा काम गरिन्। उनी विज्ञापन उद्योगकी सबैभन्दा व्यस्त बालकलाकार थिइन्। शाहरुख खानले होस्ट गरेको स्टार प्लसको ‘क्या आप पाँचवीं पास से तेज हैं?’ सोमा पनि उनी कन्टेस्टेन्ट भएकी थिइन्। उनले सन् २००४ मा दक्षिण भारतीय मलयालम फिल्म ‘वेल्लिनक्षत्रम’ बाट फिल्ममा डेब्यू गरेकी थिइन्।

बलिउडलाई झट्का

यसरी तरुणीको अनपेक्षित निधनबाट बलिउडलाई सानोतिनो झट्का नै लाग्यो। बलिउडका निर्माता, निर्देशक, कलाकारहरूका अनुसार उनी दमदार अभिनेत्री मात्र नभएर कुशाग्र विद्यार्थी पनि थिइन्।

उनको निधनमा बलिउडका मेगास्टार अभिताभ बच्चन, अभिषेक बच्चन, करिश्मा कपुर, निर्देशकद्वय आर बाल्की र विनायनलगायत धेरैले शोक व्यक्त गर्दै समवेदना दिए।

अमिताभले ट्विट गरेका थिए– नेपाल प्लेन क्र्यासमा तरुणी सचदेवको निधनको खबर सुनेर म हतप्रभ छु। उनी साह्रै मायालु र सुन्दर बालिका थिइन्…. काश, भगवान यो खबर झूटो भए हुन्थ्यो।

तरुणीको निधनमा अभिषेक बच्चनले पनि यस्तै ट्विट गरेका थिए, ‘नेपाल प्लेन क्र्यासबारे सुनेर अचम्भित र धेरै दुःखित भएँ। मेरा सबैभन्दा मायालु सह–कलाकारमध्ये मैले एक जना गुमाएको छु– ‘पा’ कि लिटिल तरुणी । स्पिचलेस…।

रसनाको विज्ञापनमा तरुणीसँगै अभिनय गरेकी करिश्मा कपुरले पनि ‘समाचार सुनेर साह्रै दुःख लाग्यो। उनी एक मायालु र कुशाग्र थिइन्। होनहार थिइन्। ‘पा’ मा उनले अद्भूत चरित्र निर्वाह गरेकी बाल कलाकार थिइन्’ भनेर ट्विट गरिन्।

फिल्म ‘पा’ का निर्देशक आर बाल्कीले भने, ‘मलाई थाहा छैन, के भनुँ ? मलाई विश्वास नै भइरहेको छैन कि तरुणी अब यो संसारमा छैनन्। उनी साह्रै सरल अभिनेत्री थिइन्, जोसँग मैले पा मा काम गरें।’

अर्का निर्देशक विनायनले टाइम्स अफ इन्डियासँगको अन्तर्वार्तामा भने कि उनले तरुणीलाई एउटा विज्ञापनमा अमिताभ बच्चनसँग काम गरेको देखेका थिए। उनले विज्ञापन एजेन्सीसँग तरुणीको टेलिफोन नम्बर लिए र फोन गरे। आमा गीताले फोन दिनासाथ तरुणीले फोनमा भनिन्, ‘अंकल, मैले फिल्ममा काम गर्नुछ।’

विनायनले नै सन् २००४ मा तरुणीलाई फिल्ममा डेब्यू गराएका थिए। उनले मलयालम हरर फिल्म ‘वेल्लिनक्षत्रम’ मा तरुणीलाई ब्रेक दिएका थिए। फिल्मको प्रमुख चरित्र पृथ्वीराज सुकुमारनले निर्वाह गरेका थिए। त्यसपछि विनायनले उनलाई अर्को फिल्म ‘सत्यम’ मा पनि कास्ट गरे। सामाजिक सञ्जालमा तरुणीसँग आफ्नो तस्बिरसहित सेयर गर्दै विनायनले भने– साह्रै दुःखपूर्वक भन्नु पर्छ, उनी अब संसारमा छैनन्। 

उल्लेखनीय भूमिका

सन् २००२ मा प्रदर्शित टेलिभिजन सिरिज ‘मेट्टी ओली’मा उनले सीताकी छोरी मामिनी कुट्टीको चरित्र निर्वाह गरेकी थिइन्।

सन् २००४ मा प्रदर्शित मलयालम हरर फिल्म ‘वेल्लिनक्षत्रम’ मा उनले एउटा भूतको भूमिका गरेकी थिइन्। यसै वर्ष रिलिज भएको फिल्म ‘सत्यम’मा उनी पृथ्वीराजको भान्जीको भूमिकामा देखिइन्।

सन् २००९ मा अमिताभ बच्चन, अभिषेक बच्चन र विद्या बालन अभिनित फिल्म ‘पा’ मा तरुणीले अमिताभको क्लासमेट को चरित्र निर्वाह गरेकी थिइन्।

सन् २०११ मा सबैभन्दा लामो हिन्दी सिरियल ‘ससुराल सिमर का’ मा उनले दुर्गारानीको चरित्र निर्वाह गरेकी थिइन्। यो सिरियलले २ हजार ६३ एपिसोड पूरा गरेको थियो।

सन् २०१४ मा तमिल फिल्म ‘वेटरी सेलवन’ मा उनले अभिको चरित्र निर्वाह गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्