एनआरएनएले ल्याएको अक्सिजन सिलिण्डर सरकारलाई हस्तान्तरण



काठमाडौँ : गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ल्याएको ५६० थान अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । एनआरएनएले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानमार्फत नेपाल ल्याइएका उक्त अक्सिजन सिलिण्डर आज सरकारलाई हस्तान्तरण गरिएको हो ।

मध्यपूर्वमा रहेका नेपालीहरु एवं ओमानस्थित नेपाली दूतावासको सहयोग तथा सहकार्यमा शनिबार साँझ नेपाल ल्याइएका रु. ७५ लाख भन्दा बढीको अक्सिजन सिलिण्डर आइतबार एक कार्यक्रमका बीच संघका अध्यक्ष कुमार पन्त र संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् ।

ओमानदेखि काठमाडौंसम्म ल्याइएको अक्सिजन सिलिन्डर ढुवानीको खर्च भने नेपाल सरकारले बेहोरेको हो । सिलिण्डर हस्तान्तरण गर्दै अध्यक्ष पन्तले सबै प्रदेशमा वितरण गर्न अनुरोध गरे । नेपालका विभिन्न स्थानहरुमा वितरण गर्न दाताहरुको अनुरोध सहितको पत्र समेत मन्त्री त्रिपाठीलाई हस्तान्तरण गरिएको थियो ।

संघले विदेशस्थित राजदूतावास, कूटनीतिक नियोग, संघका राष्ट्रिय समन्वय समिति लगायत विभिन्न नेपाली संघसंस्था तथा आम गैरआवासीय नेपालीहरुसँग सहकार्य गरिरहेको अध्यक्ष पन्तले बताए । संघका संस्थपक अध्यक्ष डा. महतोले आफ्नो मुलुकमा आपत परेको बेलामा जहिले पनि गैरआवासीय नेपालीहरुले सहयोग गरेको र भविष्यमा पनि गरिरहने बताएका छन् ।

मन्त्री त्रिपाठीले संकटको समयमा सहयोग गरेकोमा संघ प्रति आभार प्रकट गरे । उनले संघबाट प्राप्त अक्सिजन सिलिण्डर आवश्यकता अनुसार लुम्बिनी प्रदेश २०० थान, सुदूरपश्चिम प्रदेश १०० थान, कर्णाली प्रदेश १०० थान, प्रदेश नम्बर २ मा ८५ थान र गण्डकी प्रदेशलाई ७५ थान वितरण गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्