प्रधानमन्त्री ओलीले लिएका शपथविरुद्ध सर्वोच्चमा रिट



काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथविरूद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ । अधिवक्ता चन्द्रकान्त ज्ञवालीले प्रधानमन्त्रीले लिएको शपथ कानुनविपरीत भएकाले बदर गर्न माग गर्दै सर्वोच्च अदालत रिट दयार गरेका हुन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा दुइटा महत्वपूर्ण अंश भन्न छुटाएका थिए । ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश आफैले ‘त्यो पर्दैन’ भन्दै छुटाएका थिए ।

उनको त्यस्तो जवाफ सुनेर राष्ट्रपति हाँसेकी थिइन् । त्यसपछि ओलीले शपथमा प्रयोग भएको ’ईश्वर’ भन्ने शब्द पनि उच्चारण गरेनन्।
यद्यपि ज्ञवालीको रिट अध्ययनकै क्रममा रहेकाले आज दर्ता गर्न नसकिएको सर्वोच्चको रिट महाशाखा स्रोतले जनाएको छ ।

शपथ ग्रहणका वाक्यांश जानाजान छुटाएर प्रधानमन्त्री ओलीले शपथको गरिमा लत्याएको र राष्ट्रपतिको समेत मानमर्दन गरेको भनेर विभिन्न टिक्काटिप्पणी भइरहेका बेला सर्वोच्चमा रिट परेको हो ।

वि.स. २०६५ साउन ८ गते पूर्वउपराष्ट्रपति परमानन्द झाले लिएको शपथ पनि विवादमा तानिएको थियो । तत्कालीन राष्ट्रपति रामवरण यादवले नेपालीमा शपथ खुवाए पनि झाले हिन्दीमा उल्था गरेर पढेपछि विवादित भएको थियो ।

यो विवाद पनि सर्वोच्च अदालतसम्मै पुगेको थियो । तत्कालीन प्रधानन्यायाधीश मीनबहादुर रायमाझी र न्यायाधीश बलराम केसीको इजलासले उक्त शपथ संविधानसम्मत नभएको भन्दै बदर गरिदिएको थियो । उनले शपथ दोहो¥याएर लिनुपरेको थियो ।

नेकपा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीबाट पदमुक्त भएको तीन दिनपछि बिहीबार राष्ट्रपति भण्डारीले पुनः प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार ओलीलाई ४२ औं प्रधानमन्त्री नियुक्त गरेकी हुन् । यसअघि वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्