कर्णालीका नवनियुक्त दुई मन्त्रीको शपथ आज, बिष्ट हटाइए



सुर्खेत : कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले शपथ लिँदै छ । बुधबार मात्रै कर्णाली सरकार हेरफेरमा तीन जना मन्त्री थपेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुई जनालाई निरन्तरता दिएका छन भने एक जना मन्त्री शपथ नलिँदै हटाइएका छन् ।

मुख्यमन्त्री शाहीले नेकपा माओवादी केन्द्रका सचेतक सीता नेपालीलाई आन्तरिक मामिला तथा कानून र युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका छन् भने गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुर प्रसाद सिग्देलले जानकारी दिए ।

माओवादी र कांग्रेसको भागबण्डासँगै काग्रेसको भागमा अब सामाजिक विकास र उर्जा तथा जलस्रोत मन्त्रालय परेको छ ।

मुख्यमन्त्री शाहीले माओवादीका केन्द्रीय नेता जनार्दन शर्मा प्रभाकर निकट मानिने नेपाली र शर्मालाई मन्त्री नियुक्त गरेका हुन् भने शक्ति बस्नेत निकट रहेका सांसद विन्दमान विष्टलाई हटाएका हुन् । निरन्तरता दिइएका दुई मन्त्रीको आज दिउँसो १ बजे सपथ ग्रहण कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्