दाउन्नेमा बस दुर्घटना : चार जनाको मृत्यु, केही घाइते



काठमाडौँ : पूर्व–पश्चिम राजमार्गको बर्दघाट–दाउन्ने सडकखण्डमा बस दुर्घटनामा चारजनाको मृत्यु भएको छ । काठमाडौँबाट रुकुम पश्चिमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा खुर्सानीखोलाबाट खस्दा चार जनाको घटनास्थलमै ज्यान गएको हो ।

बस खसेको थाहा पाएलगत्तै प्रहरी पुगेको र घटनास्थलमा चार जनाको शव भेटिएको नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डिएसपी राजु लामाले उज्यालोलाई जानकारी दिए । ज्यान गुमाउनेमध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाकी कल्पना पुनको मात्रै परिचय खुलेको डिएसपी लामाले बताए ।

घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र कतिजना घाइते भएका छन् भन्ने विवरण संकलन भइरहेको छ । दुघर्टनामा घाइते भएर पनि भागेका बस चालकलाई प्रहरीले पक्राउ गरेर अस्पताल पु¥याएको छ । निषेधाज्ञामा पनि बसले कसरी मान्छे बोकेर हिँड्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्