सोफीले पनि गरिन् बिहे



लस एन्जलस : बलिउडमा चलेको बिहेको सिजन यतिबेला हलिउडमा पनि फैलिएको छ। सुपरहिट टेलिभिजन सिरिज ‘गेम अफ थ्रोन्स’को आठौं तथा अन्तिम सिजन प्रदर्शन भइरहँदा यसकी एक अभिनेत्री सोफी टर्नरले भारतीय वेशभुषामा अमेरिकी ब्यान्ड ‘जोनास ब्रदर्श’का जो जोनाससँग लसवेगासमा बिहे गरेकी छन्। अझ खासमा त आज आइतबार ‘गेम अफ थ्रोन्स’को अन्तिम एपिसोड प्रशारण हुँदै छ।

‘एक्सम्यान’ सिक्वेलका हलिउड फिल्ममा अभिनय गरिरहेकी टर्नर नाताले भारतीय सुन्दरी प्रियंका चोपडाका जेठानी भएकी छन्। दुवैबीच प्रियंकाको बिहेअघि देखि नै निकै गहिरो हिमचिम जमेको छ।

टर्नरले जोसँग सन् २०१६ देखि नै डेटिङ गरिरहेकी थिइन् भने एक वर्षपछि इन्गेजमेन्ट गरेकी थिइन्। टर्नर र जोले बिहेको रिसेप्सन फ्रान्समा दिने बताइएको छ। टर्नरको ‘एक्समेन’ सिक्वेलको नयाँ फिल्म ‘डार्क फिनिक्स’ प्रदर्शनको तयारीमा छ।

सिंहासन जफत

यसबीच सुटिङका लागि राखिएको फलामको सिंहासन रसियाली प्रशासनले जफत गरेको छ। रसियाली अधिकारीले अवैध तवरबाट सिंहासन त्यहाँ राखिएको बताएका छन्। उनीहरूले सिंहासन कुनै गोप्य ठाउँमा राखेका छन्।

सिंहासन सेन्ट पिटर्सबर्गको मुख्य चोकमा राखिएको थियो। बटुवाहरूले सिंहासनसँग फोटो खिच्ने गरेका थिए। रसियामा जारको शासनकालमा सेन्ट पिटर्सबर्ग रसियाको राजधानी थियो।

प्रशासनले सिरियल निर्माताको युनिटलाई सिंहासन फर्काउने वा नफर्काउने केही भनेका छैनन्। तर निर्माताले भने सिंहासन जफतबाट सिरियलको प्रशारणमा कुनै फरक नपर्ने बताएका छन्। किनभने सबै सुटिङ सकिइसकेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्प पनि फ्यान

अहिलेसम्म ७२ एपिसोड प्रशारण भैसकेको ‘गेम अफ थ्रोन्स’का फ्यानमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प पनि पर्छन्। अमेरिकाको राष्ट्रपति चुनावमा रसियाली दखलसम्बन्धी विवादमा रबर्ट मुलर नेतृत्वको समितिले उनलाई ‘क्लिन चिट’ दिएपछि ट्रम्प यति धेरै उत्साहित भएका थिए कि उनले ठ्याक्कै ‘गेम अफ थ्रोन्स’ को स्टाइलको आफ्नो तस्बिरसँग ट्विट गरेका थिए– गेम ओभर।

प्रतिक्रिया दिनुहोस्