बीमा रकम भुक्तानीमा पक्षपात भएको प्रहरी कर्मचारीको गुनासो



काठमाडौं । कोरोना संक्रमणको उच्च जोखिमकाबीच उग्रपंक्तिमा रहेर काम गर्ने सुरक्षाकर्मीले आफूहरुले कोरोना बीमाको रकम नपाएको गुनासो गरेका छन् । उनीहरुले समयमा बीमाको भुक्तानी नपाउँदा बीमा रकममा अनियमितता भएको हुन सक्ने आशंका प्रहरी संगठन भित्र नै पैदा भएको छ ।
बीमाको रकम भुक्तानीका लागि निवेदन पेश गरेको एक वर्षसम्म कुनै प्रगति नभएको र पटक/पटक जानकारी लिन खोज्दा प्रक्रियामा छ भन्ने जवाफ मात्रै आएकाले पनि प्रश्न गर्ने ठाउँ रहेको एक प्रहरीले जानकारी दिए । आफ्नो नाम गोप्य राखिदिन अनुरोध गर्दै ती प्रहरी कर्मचारीले निवेदन पेश गरेको एक वर्षसम्म पनि भुक्तनी रकम प्रक्रियामा मात्रै रहेकाले अनियमितता भएको हुन सक्ने दाबी गरे ।
उनले भने, ‘पहुँचमा हुनेले कोरोना बीमाको भुक्तानी पाएका छन् । म २ हजारको लाइनमा छु । मैले अझै रकम पाएको छैन तर ३ हजार क्रम संख्या हुनेहरूले रकम पाइसकेका छन् ।’
उनले आफूसँगै कार्यरत १०/११ प्रहरी कर्मचारीको एउटै समस्या भएको बताए । उनले आफूहरूको मनोबल उच्च गरिदिनु पर्ने बेला पहुँचमा हुनेहरूको रकम भुक्तानी हुँदा र आफूहरूको नहुँदा मनोबल कमजोर बन्दै गएको बताए ।
नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले भने कुनै पनि प्रहरी कर्मचारीसँग पक्षपात नभएको बताए । उनले कागजात नपुगेकाले बीमाको रकम भुक्तानीमा ढिलो भएको हुन सक्ने आशंका व्यक्त गरे । उनले बीमाको निवेदन आएपछि पनि त्यसको फलो–अप हुने भएकाले कुनै अनियमतितता नभएको बताए । उनले भने, ‘कागजात नपुगेको भएर भुक्तानी नभएको हुन सक्छ तर हामी पूर्वाग्रही भएका छैनौं ।’
उनले, ‘म अझै सहजीकरण गर्ने कोसिश गर्छु ।’ बीमा गरिसकेकाले बीमा संस्थानसँग रकम छैन भन्ने बहाना नभएको उनको भनाई छ ।
यस्तो कठिन परिस्थितमा जोखिम मोलेर सुरक्षामा खटिएका सुरक्षाकर्मीको मनोबल उच्च राख्न संगठन सचेत भएको एसएसपी समेत रहेका प्रवक्ता कुँवरले बताए ।
हालसम्म ५ हजार ९ सय ६७ निवेदन प्राप्त भएको प्रवक्ता कुँवरले जानकारी दिए । त्यस्तै ५ हजार ९ सय ३४ निवेदन बीमा समितिमा पेश गरिएको छ । ३३ वटा
निवेदन बीमा समितिमा पेश गर्न बाँकी रहेको कुँवरले जानकारी दिए । ५ हजार २ सय ७५ निवेदन स्वीकृत भएका छन् भने १ हजार ३ सय ७५ ले रकम पाइसकेका छन् ।
स्वीकृत भई भुक्तनी हुन बाँकी ३ हजार ९ सय छन् भने ६ सय ५९ प्रक्रियामा रहेको छ । माग दाबीका लागि ३ हजार १ सय ९४ निवेदन प्राप्त हुन बाँकी रहेको प्रवक्ता कुँवरको भनाइ छ ।
मंगलबारसम्म उपचाररत प्रहरी कर्मचारी ८ सय ३२ रहेको छ । ८ हजार ३ सय १४ प्रहरी कर्मचारीले कोरोना जितेका छन् भने १५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्