शनिबार अमेरिका जाँदै प्रम ओली, ११ दिनपछि फर्किने



काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घ महासभाको ७३औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज ६ गते शनिबार न्युयोर्क जाने भएका छन्। यसपटक अोलीकाे भ्रमण ११ दिन लामो हुने छ।

असोज ९ गते मङ्गलबारबाट आरम्भ हुने अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने (संस्था) बनाउने’ रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । 

प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। सोही दिन प्रधानमन्त्री अोलीले महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ। 

प्रधानमन्त्री ओलीले असोज ८ गते सोमबार ‘नेल्सन मन्डेला शान्ति शिखर बैठक’का रूपमा उच्चस्तरीय पूर्ण बैठकलाई सम्बाधन गर्ने कार्यक्रम छ। सो बैठक दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाको सम्मानमा उनको शताब्दीऔँ जन्मदिवसका अवसरमा आयोजना हुनेछ। 

प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती ट्रम्पले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुनेछन्। उहाँ असोज ९ गते मङ्गलबार संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन्।  

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको महासभाका कार्यक्रमका साथसाथै असोज १० गते बुधबार स्विजरल्यान्डका राष्ट्रपति एलेन बर्सेटसँग दुईपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। असोज १२ गते शुक्रबार क्याम्बोडियाका प्रधानमन्त्री सामदेक अर्थात् मोहा सेना पदेई तेको हुन सेनसँग दुई पक्षीय भेटवार्ता हुने बताइएको छ। 

प्रधानमन्त्री ओली असोज १३ गते शनिबार दुईपक्षीय औपचारिक भ्रमण लागि कोस्टा रिकाको सान होजेतर्फ प्रस्थान गर्नेछन्। प्रधामन्त्री ओलीले सान होजेमा कोस्टा रिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुईपक्षीय भेटवार्ता गर्नेछन्। उनले सान होजेमै शान्ति विश्वविद्यालय (युनिभर्सिटी फर पिस) लाई सम्बोधन गर्नेछन्। 

प्रधानमन्त्री असोज १७ गते बुधबार स्वदेश फर्कनेछन्।

प्रतिक्रिया दिनुहोस्