विश्वकप छनोट : आज नेपालले र जोर्डन भिड्दै



काठमाडौं : फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटअन्र्तगत नेपालले आज (सोमबार) बलियो टिम जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग खेल्नेछ । खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले टिमको लक्ष्य जित निकाल्ने रहेको बताइसकेका छन् । अघिल्लो खेलमा चाईनिज ताइपेलाई २–० ले हराएको नेपाल उच्च मनोबलसहित मैदान उत्रने छ ।

जोर्डन पनि नेपाललाई हराएर विश्वकपमा छनोट हुने आशा जीवित राख्न चाहन्छ । जोर्डनका प्रशिक्षक वाइटल बोर्केलमान्सले नेपाली टिमको खेलमा निकै फरक आएको बताए । छनोटको समूह ’बी’ मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको चौंथो स्थानमा रहेको छ । जोर्डन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर रहेको छ । नेपालले जोर्डनविरुद्ध हालसम्म तीन पटक खेलेको छ । तर, नेपालको नतिजा सुखद छैन । नेपालले जोर्डनविरुद्ध दुई खेल गुमाएको छ । एक खेल भने बराबरी खेलेको छ ।

विश्वकप छनोट अन्तर्गत नै नेपालले सन् २०११ को जुलाईमा जोर्डनसँग खेलेको थियो । जुलाई २३ मा जोर्डनको मैदानमा भएको खेलमा नेपाल ९–० ले पराजित भएको थियो । तर, २०११ को जुलाई २८ मा नेपालमा भएको खेलमा नेपालले जोर्डनलाई १–१ गोलको बराबरीमा रोकेको थियो । त्यहि नै जोर्डनविरुद्ध नेपालको सुखद नतिजा हो ।

दशरथ रंगशालामा नेपालका लागि भरत खवासले गोल गरेपछि नेपालले बराबरी खेलेको थियो । जोर्डनका अल मुर्जनले गोल गरेका थिए ।
पछिल्लो पटक नेपालले जोर्डनसँग २०१९ को अक्टोबरमा खेलेको थियो । विश्वकप छनोट अन्तर्गत नै नेपालले जोर्डनसँग उसैको मैदानमा खेलेको थियो । उक्त खेलमा नेपाल ३–० ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्