काँग्रेसले माग्यो सभामुखसहित आधा मन्त्रालय



जनकपुरधाम : जनता समाजवादी पार्टीमा आएको विभाजनसँगै मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकारले सत्ता साझेदारीको लागि नेपाली काँग्रेस र माओवादी केन्द्रसँग छलफल गरिरहेको छ । त्यसअन्तर्गत पहिलो चरणमा जसपाको राउत समूहले काँग्रेससँग छलफललाई तीव्रता दिएको छ ।

सोमबार बिहान मन्त्रिमण्डल पुनर्गठन र सत्ता साझेदारीको लागि दुवै पक्षबीच पहिलो चरणको वार्ता भएको थियो । आज साँझ पुनः बैठक बसेर मन्त्रालय बाँडफाँट गर्ने तयारी गरिएको जनाइएको छ । महन्थ ठाकुर पक्षधर मन्त्री तथा राज्यमन्त्रीलाई आइतबार मध्यराति हटाएलगत्तै कांग्रेस र माओवादी केन्द्रलाई सहभागी गराइ मन्त्रिमण्डल पुनर्गठनका लागि राउतले छलफलाई तीव्रता दिएका हुन् ।

बैठकमा प्रदेश सरकारका तर्फबाट समाजिक विकासमन्त्री नवल किशोर साह, उद्योग वन पर्यटन तथा वातावरणमन्त्री रामनरेश राय र भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह र कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुश्वाहा, सांसदहरू शिवचन्द्र चौधरी र विरेन्द्र सिंहबीच छलफल भएको हो ।

काँग्रेसले तत्कालीन राजपासँग भएको गठबन्धनकै मोडलअनुसार ५० प्रतिशत मन्त्रालय माग गरेको छ । यसअघि कांग्रेसको माग मुख्यमन्त्री नै थियो । तर मुख्यमन्त्री नपाउने भएपछि आधा मन्त्रालयको दाबी गरेको स्रोतले जनाएको छ । त्यसैगरी माओवादीलाई एक मन्त्री र एक राज्यमन्त्री दिने चर्चा छ । यद्दपि त्यसबारे टुंगो लागिसकेको छैन । काँग्रेस र माओवादी केन्द्रले जसपा यादव समूहसँग सहकार्य गर्ने हो भने सभामुख पनि काँग्रेसलाई दिनुपर्ने शर्तसमेत राखेको छ । मुख्यमन्त्री जसपाले लिने हो भने दोस्रो ठूलो घटकको रुपमा रहने काँग्रेसलाई सभामुख दिन आग्रह गरेको बताइएको छ । अहिले जसपाका सरोज यादव सभामुख छन् । उनी जसपाका राजेन्द्र महतो निकट मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्