संघीय संसद्का १४ समितिमा ६ जना महिला सभापति



काठमाडाै‌ : संघीय संसद्का १४ वटै विषयगत समितिले शुक्रबारदेखि सभापति पाउँदै छन् । प्रतिनिधिसभाका १० समिति सभापतिका लागि बिहीबार प्रत्येक समितिमा एकल उम्मेदवार परेपछि शुक्रबार सबै समितिमा निर्विरोध सभापति निर्वाचित हुने भएका हुन् ।

 

प्रतिनिधिसभाका १० मध्ये सार्वजनिक लेखा समिति मात्र विपक्षी दललाई दिइएको छ । त्यसबाहेक सत्तारूढ दल नेकपाले आठ र अर्को सत्तारूढ दल संघीय समाजवादी फोरमले एउटा समितिको नेतृत्व गर्दै छन् ।

 

संसद् नियमावलीअनुसार समिति नेतृत्वमा कम्तीमा एकतिहाइ महिला रहनुपर्ने व्यवस्था छ । तर सत्तारूढ नेकपाले प्रतिनिधिसभाका १० विषयगत समितिमा महिला सांसदलाई विशेष प्राथमिकता दिएको छ । सभापतिका लागि उम्मेदवारी दिएका आठमध्ये ६ वटा समिति सभापतिमा नेकपाले महिला उम्मेदवार बनाएको छ ।

 

कुन समितिमा को सभापति ?

सार्वजनिक लेखा समितिमा कांग्रेसका भरत शाहको उम्मेदवारी परेको छ । कांग्रेसकै राजेन्द्रकुमार केसीको प्रस्ताव तथा मीना सुब्बाको समर्थनमा शाहले सभापति पदमा उम्मेदवारी दिएका हुन् । नेकपाकी बिन्दा पाण्डे प्रस्तावक तथा गोपालबहादुर बम समर्थक राखेर संघीय समाजवादी फोरमका विमलप्रसाद श्रीवास्तवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवारी दिएका छन् ।

 

शिक्षा तथा स्वास्थ्य समितिमा जयपुरी घर्तीको उम्मेदवारी परेको छ । घर्तीको प्रस्तावक योगेश भट्टराई र अञ्जना बिशंखे समर्थक छन् । विकास तथा प्रविधि समितिमा गणेश पहाडीको प्रस्ताव र इन्दुकुमारी शर्माको समर्थनमा कल्याणी खड्काले सभापतिका लागि उम्मेदवारी दिएकी छन् । राज्यव्यवस्था तथा सुशासन समितिको सभापति शशी श्रेष्ठ हुने भएकी छन् । कृष्णगोपाल श्रेष्ठ प्रस्तावक तथा रेखा शर्मा समर्थक रहेर श्रेष्ठको उम्मेदवारी परेको हो ।

 

महिला तथा सामाजिक समितिमा निरुदेवी पालको उम्मेदवारी परेको छ । पालको उम्मेदवारी दर्तामा गंगा चौधरी सत्गौवा प्रस्तावक तथा पार्वत गुरुङ समर्थक छन् । शान्ता चौधरी प्रस्तावक तथा घनश्याम खतिवडा समर्थक रहेर कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा पूर्णाकुमारी सुवेदीको उम्मेदवारी परेको छ ।

 

 

कानुन, न्याय तथा मानवअधिकार समिति सभापतिमा कृष्णभक्त पोखरेलको उम्मेदवारी छ । सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङको समर्थनमा पोखरेलले सभापतिमा उम्मेदवारी दिएका हुन् ।

 

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला खरेलको उम्मेदवारी परेको छ । खरेलको प्रस्तावकमा सानु शिवा र समर्थकमा नारदमुनि राना छन् ।

 

अर्थ समितिमा कृष्णप्रसाद दाहालको उम्मेदवारी परेको छ । उनको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा हरिराम अधिकारी छन् । सबै समितिको बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको छ । सबै समिति सभापतिमा एकल उम्मेदवारी परेकाले समिति बैठकमा ज्येष्ठ सदस्यले सभापति निर्वाचित भएको घोषणा गर्ने संघीय संसद् सचिवालयका सहसचिव सुदर्शन खड्काले जानकारी दिए । याे खबर अाजकाे नयाँ पत्रिका दैनिकबाट लिइएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्