स्रोत नखुलेको पौने ३१ लाखसहित दुई भारतीय पक्राउ



अनिल यादव/रौतहट : स्रोत नखुलेको करिब ३१ लाख रुपियाँसहित दुई भारतीय नागरिकलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरेका दुवैलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पठाउने तयारी गरिएको रौतहट प्रहरी कार्यालयले जनाएको छ ।

परोहा नगरपालिका वडा नम्बर ९ रामपुर खापस्थित नेपाल भारत सीमानजिक भारतीय मोटरसाइकलमा चढेर आइरहेका दुई जनालाई शंका लागेर चेकजाँच गर्दा ३० लाख ७६हजार रुपियाँ बरामद भएको थियो । सो रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले तत्कालै दुवैलाई नियन्त्रणमा लिएको बताइएको छ ।

पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला घोडासहनका २२ वर्षीय बन्टी कलवार र २० वर्षीय सुरज कलवार रहेका छन् । अवैध रकमसहित पक्राउ परेपछि दुवैलाई नियन्त्रणमा राखेर आवश्यक सोधपूछ भइरहेको तथा थप कारबाहीका लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग काठमाडौं पठाउने तयारी भइरहेको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्