चारवटा प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै



काठमाडौँ : चारवटा प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छन् । प्रदेश १, प्रदेश २ नम्बर, बागमती र सुदुरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷०७९ का लागि नीति तथा कार्यक्रम सार्वजिनक गर्न लागेका हुन् ।

प्रदेश १ सरकारले आज (बिहिबार) अपरान्ह तीन बजे प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले निती तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको प्रदेशसभाकी प्रवक्ता चमिला भट्टराईले जानकारी दिए । आज एक बजे कार्यव्यवस्था समितिको बैठक बसेर यसबारे टुंगो लाग्ने भट्टराईले बताए ।

यस्तै प्रदेश नम्बर २ सरकारले दिउँसो २ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने छ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख डाक्टर राजेश झाले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सभामुख सरोजकुमार यादवले जानकारी दिए । यस्तै बागमती प्रदेश सभाको दिउँसो साढे ३ बजे बस्ने बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

सरकारले कोरोनाको महामारी नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पारेको बागमती प्रदेश सरकारले जनाएको छ । प्रतिपक्षी दलहरुले भने नीति तथा कार्यक्रम र बजेट प्रदेशसभाबाट पारित गर्न नदिने योजना बनाएका छन् ।

यस्तै, सुदुरपश्चिम प्रदेशसभाको दिउँसो ४ बजे बस्ने बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशमा बजेट ल्याउनुभन्दा १५ दिन अगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानूनी व्यवस्था भए पनि यस वर्ष राजनीतिक किचलो र उतारचढावका कारण ढिलो भएको छ । प्रदेश सरकारहरुले असार १ गते अगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्