मुख्यमन्त्री गुरुङले मागे विश्वासको मत, केही बेरमा मतदान



पोखरा : गण्डकी प्रदेशको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत मागेका छन् । प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री गुरुङले प्रदेशसभाको पूर्णकार्यकाल र संघीयताको सबलीकरणका लागि आफूलाई मत दिन आग्रह गरेका हुन् ।

‘कहिलेकाहीँ राजनीति तरल बन्छ । यतिबेला सबै संयम हुनुपर्छ । म प्रदेशसभा पूर्णकार्यकाल चलोस् र संघीयता सबल होस् भन्ने चाहन्छु । यसप्रति प्रदेशसभा सदस्यहरुले विचार गर्नुहुने विश्वास लिएको छु’, गुरुङले भने । उनले जनमतकै आदेश अनुसार आफू मुख्यमन्त्री भएको र आफ्नो कार्यकालमा जनअपेक्षा अनुसार काम गर्न प्रयास गरेको बताए । आफ्नो कार्यकालका कामहरूबारे अधिक समय चर्चा गरेका मुख्यमन्त्री गुरुङले विश्वासको मत पाएमा सबैलाई एकतावद्ध बनाएर लैजाने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान हुनुभन्दा एक दिनअघि मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले गुरुङले वैशाख २९ मा मुख्यमन्त्रीको शपथ लिएका थिए । संवैधानिक व्यवस्था अनुसार उनले जेठ २९ गतेभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसैको लागि उनले २५ जेठमा विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए । कुल ६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्छ । जसमा एमालेका २७ सांसद छन् भने काँग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्यि जनमोर्चाका ३ सांसद गरी कुल ३२ सांसद छन् । तर त्यसमध्ये एक जना सभामुख र जनमोर्चाका सांसद कृष्ण थापाले ह्वीप उल्लंघन गर्ने स्पष्ट धारणा दिइसकेकोले विपक्षीको पक्षमा ३० सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्