गण्डकीको नयाँ मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त



पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार उनलाई संविधानको धारा १६८ को ५ बमोजिम नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
प्रदेश प्रमुख कार्यालयका सचिव हरिप्रसाद बास्तोलाले नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको जानकारी दिए । अब नेपालीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।
प्रदेश प्रमुख पौडेलको आह्वान अनुसार शुक्रबार नेपाली कांग्रेस संसदीय दलका नेता नेपालीले प्रदेश सभाका बहुमत ३१ सांसदको समर्थन रहेको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । उनी ३१ जना नै सशरीर प्रदेश प्रमुख कहाँ पुगेका थिए ।
प्रदेश सभामा सबैभन्दा ठूलो दल एमालेको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत सम्बन्धी राखेको प्रस्ताव अस्वीकृत भएको थियो । ६० प्रदेश सभाका २७ सांसदले उनलाई मत दिए भने ३० जना विपक्षी उभिएका थिए । १ जना तटस्थ रहे । १ जना उपस्थितै भएनन् ।

प्रतिक्रिया दिनुहोस्