खोप पाउने भएपछि ट्यांकर चालकको आन्दोलन फिर्ता



काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप दिने सहमति भएपछि इन्धन ढुवानीमा संलग्न ट्यांकर चालकले आन्दोलन फिर्ता लिएका छन् । सरकारले बुधबारदेखि नै चालकलाई खोप दिने भएपछि उनीहरुले आन्दोलन फिर्ता लिएका हुन् ।
नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच मंगलबार भएको वार्तामा बुधबारदेखि नै खोप लगाउन सुरु गर्ने सहमति भएको संघका अध्यक्ष ईश्वर लामाले जानकारी दिए ।
नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायकाअनुसार बागमती प्रदेश कार्यालय, थानकोट र २ नम्बर प्रदेशिक कार्यालय अमलेखगञ्जमा खोपका कारण रोकिएका सवारी सञ्चालन गर्नेगरी सहमति भएको छ । बागमती प्रदेश कार्यालयको काठमाडौं र अमलेखगजमा रहेका चालकलाई उतै खोप लगाउनेगरी व्यवस्था गर्नेगरी सहमति भएको छ ।
‘नेपाल पेट्रोलियम ट्यांकर चालक संघले निगमको बागमती प्रदेश कार्यालय, थानकोट तथा २ नम्बर प्रादेशिक कार्यालय, अमलेखगञ्जमा खोपका कारण पेट्रोलियम पदार्थको लोड अनलोड तथा विक्री वितरणमा गर्दै आएको बन्दको कार्यक्रम आजबाटै फिर्ता लिइ ट्यांकर सञ्चालन सुरु गरेर डिपो अपरेशनको कार्य सुचारु गर्ने सहमति भएको व्यहोरा अनुरोध छ’, सहमति निगम प्रवक्ता उपाध्यायले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्