रोनाल्डोको कीर्तिमानमा पोर्चुगलको सानदार जित, फ्रान्सको सुखद सुरुवात



एजेन्सी : साविक विजेता पोर्चुगलले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा समूह चरणको पहिलो खेलमा हंगेरीलाई ३–० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले सुखद सुरुवात गरेको हो । पुस्कास एरिनामा पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।

राफायल गुइरेरोको नाममा एक गोल रह्यो । घरेलु टिम हंगेरीले पहिलो हाफमा पोर्चुगललाई बराबरीमा रोकेको थियो । तर, दोस्रो हाफको अन्तिम १० मिनेट भित्र तीन गोल व्यहोर्यो ।

खेलको ८४ औं मिनेटमा राफायलले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाए । ८७ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै टिमको अग्रता २–० को बनाए । हंगेरीका विलि ओर्बानले राफा सिल्भालाई पेनाल्टी क्षेत्रमा लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । जसमा रोनाल्डोले सहजै गोल गरे ।

त्यसपछि खेलको इन्जुरी समयको दोस्रो मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ३–० को जित दिलाए । हंगेरीविरुद्ध दुई गोल गरेसँगै रोनाल्डोले युरोकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । उनले युरोकपमा ११ गोल गर्दै कीर्तिमान बनाएका हुन् । रोनाल्डोले फ्रान्सका मिचेल प्लाटिनीले बनाएको ९ गोलको कीर्तिमान तोडेका हुन् ।

यस जितसँगै समूह ’एफ’ मा रहेको पोर्चुगलले महत्वपूर्ण ३ अंक जोडेको छ । पोर्चुगल समूहको शीर्ष स्थानमा रहेको छ । हारबाट प्रतियोगिताको सुरुवात गरेको हंगेरी पुछारमा रहेको छ ।

साविक उपविजेता फ्रान्सले पनि युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा जर्मनीलाई १–० गोल अन्तरले पराजित गर्दै फ्रान्सले सुखद सुरुवात गरेको हो ।

जर्मनीको म्युनिखस्थित एलिनाज स्टेडियममा विश्व विजेता फ्रान्सले आत्मघाती गोलको मद्दतमा जित निकालेको हो । जर्मनीका माट हुमेल्सको आत्मघाती गोलबाट फ्रान्सले महत्वपूर्ण जित निकालेको हो । डिफेन्डर हुमेल्सले २० औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।
यस हारसँगै तीन पटकको च्याम्पियन जर्मनी युरोकपको इतिहासमा पहिलो पटक आफ्नो पहिलो खेलमा पराजित भएको छ ।

आज तीन खेल हुँदै

युरोकप फुटबलमा आज (बुधबार) तीन खेलहरु हुँदैछ । युरोकपमा आज समूह ’ए’ को दुई खेल र समूह ’बी’ को एक खेल हुनेछ । आज हुने पहिलो खेलमा फिनल्याण्ड र रुसबीच प्रतिस्पर्धा हुनेछ । समूह ’बी’ मा रहेको फिनल्याण्ड र रुसबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा वेल्स र टर्कीबीच प्रतिस्पर्धा हुनेछ । समूह ’ए को’ वेल्स र टर्कीबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । आज हुने तेस्रो खेलमा इटाली र स्विजरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । इटाली र स्विजरल्याण्डबीचओ खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्