लमजुङको हिले बजारका १४ घर बगायो, ५० घर उच्च जोखिममा



लमजुङ । लमजुङको दोर्दी गाउँपालिका–८ मा रहेको हिले बजारमा बाढीले १४ घर बगाएको छ भने ५० घर उच्च जोखिममा छ । आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दी खोलामा आएको बाढीले १४ घर बगाएको हो । बाढीका कारण एक सय ६ घर मध्ये ५० घर उच्च जोखिममा छन् ।
त्यस्तै, पाँच÷छ वटा बिजुलीको हाइटेन्शन खम्बा पनि ढालेको छ । ती तारले झोलुङ्गे पुलमा अवरुद्ध बनाएको छ । स्थानीयवासी यहाँबाट पालिकाको केन्द्र र जिल्लाका सदरमुकाम जाने बाटो सबै क्षतविक्षत भएकाले आउन र जान पनि नसक्ने अवस्थामा रहेको बताइएको छ । स्थानीयवासीलाई सोही बजारको अलि उच्च रहेका १०–१२ घरमा र फलेनी माविमा राखिएको छ । कतैबाट राहत सामग्री ल्याउन पनि बाटोले समस्या बनाएकाले यहाँका स्थानीयवासी समस्यामा छन् । बिजुली बत्तीसमेत छैन । खोला बढिरहेको छ अझै हट्ने सम्भावना छैन ।

प्रतिक्रिया दिनुहोस्