वन्यजन्तुलाई पानी खुवाउन चार वटा सोलार बोरिङ



भरतपुर : चितवन राष्ट्रिय निकुञ्जको सुख्खा क्षेत्रमा वन्यजन्तुलाई पानी खुवाउन चार वटा सोलार बोरिङ खनिएको छ । निकुञ्जको सुखिभारमा दुईवटा, डुमरियामा एउटा र अर्ना फाँटमा एउटा सोलार बोरीङ् खनिएको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार एउटा पोखरी सहितको सोलार बोरीङका लागि रु ७ लाख हाराहारी खर्च भएको छ । सुखिभार क्षेत्रमा एक सय ७४ गैंडा रहेका छन् । डुमरिया र अर्ना फाँटमा ६३ वटा गैंडा रहेका छन् । अधिकारीले भने, “यो ठाउँमा रहेका गैंडा लगायतका वन्यजन्तुलाई सुख्खा मौसममा समेत पानीको व्यवस्था गरिएको छ ।” निकुञ्ज भित्र विद्युत आपूर्ति नहुने भएकाले सोलार सहितको बोरीङ राखिएको हो ।

बोरीङले २४सै घण्टा पानी फाल्ने छ । पोखरी २० फिट चौडाइ र ४० फिट लम्बाइका छन् । यस वर्ष निकुञ्जमा ३५ वटा पुराना पोखरी सरसफाइ र मर्मत सम्भार गरिएको छ । यस्तै १६ वटा नयाँ पोखरी खनिएको उनले जानकारी दिए । पुराना पोखरीका लागि रु ३५ लाख र नयाँका लागि रु ३२ लाख खर्च गरिएको उनले बताए ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले गैंडाको सङ्ख्या बढेसँगै सुख्खा क्षेत्रहरुमा पानीको व्यवस्थापनमा जोड दिइएको जानकारी दिए । उनका अनुसार पछिल्ला वर्षहरुमा निकुञ्जले घाँसेमैदान र पानीको व्यवस्थापनमा विशेष जोड दिएको छ । ठाउँठाउँमा पानीको व्यवस्थापन भएसँगै गैंडा सहितका दुर्लभ वन्यजन्तु पानीका लागि टाढा जानु पर्दैन । निकुञ्ज हुँदै वग्ने खोलाहरु, चुरेबाट झरेका खोल्साहरुसँगै निकुञ्ज भित्रका ताल तलैयामा वन्यजन्तु पानीका लागि आश्रीत हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्