महाकाली नदीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह



कञ्चनपुर । लगातारको वर्षाका कारण महाकाली नदीको सतह बढ्दै गएको छ । महाकालीमा पानीको सतह बढेसँगै जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले सजकता अपनाउन सबैमा आग्रह गरेको छ ।
शुक्रबार बिहान महाकाली नदीको बहाव पाँच मिटर ८० सेन्टिमिटर पुगेको छ । प्रहरी चौकी दत्तुका अनुसार छ मिटर नाघ्यो भने खतरा हुन्छ । नदीमा ढुङ्गा तथा ठूला काठ बगिरहेका छन् ।
नदी बढेर सदरमुकाम खलङ्गाको बङ्गाबगड क्षेत्रमा तटबन्ध माथि चढेको छ । नदीमा पानीको बहाव बढ्दा आसपासका क्षेत्रमा जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए । नदी तटीय क्षेत्र तथा जिल्लाका अन्य नदी तथा खोलामा बाढी आउन सक्ने सम्भावना रहेकाले जिल्लावासीमा सावधानी र सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
गत जेठ २८ गते मनसुन भित्रिएसँगै देशभर लगातारजसो पानी परिरहेको छ । यो हप्ता मनसुन सक्रिय भई देशभर पानी पर्ने हुँदा बाढी र पहिराको जोखिम रहेकाले सचेत रहन प्रशासनले आग्रह गरेको हो । विसं २०७० को महाकाली बाढीपछि तटबन्ध निर्माण भएका कारण अहिलेसम्म सदरमुकाम सुरक्षित रहेको भए पनि सदरमुकामभन्दा माथिल्लो क्षेत्र र दक्षिण क्षेत्रका बस्ती अहिले पनि जोखिममा छन् ।
निरन्तरको झरीका कारण यहाँका ग्रामीण सडक अवरुद्ध भएका छन् । वर्षाका कारण खार–खलङ्गा सडक, खलङ्गा–तिङ्कर सडक र विटुले–पारिबगड सडक अवरुद्ध भएका हुन् । प्रदेश गौरव योजनाअन्तर्गत ग्राभेल भइरहेको खार–खलङ्गा सडकको तीन ठाउँमा सडक अवरुद्ध भएको छ ।
सडक अवरुद्ध भएसँगै खलङ्गा–खार क्षेत्रमा सञ्चालन हुँदै आएका यातायातका साधन प्रभावित भएका छन् । यो सडक खण्डको मालभेला, झुस्कु मोड र सेला क्षेत्रमा सडक अवरुद्ध भएको हो ।

प्रतिक्रिया दिनुहोस्