नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ सम्म काठमाडौंमा हुने



काठमाडौं । नेपाली कांग्रेसले १४ औँ महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने अन्तिम निर्णय गरेको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
कांग्रेसले साउन १२ गते गाउँ तथा नगरको वडाको अधिवेशन, साउन १६ गते गाउँपालिका/नगरपालिकाको अधिवेशन, साउन २० गते क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २३ गते तथा एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २६ गते गर्ने निर्णय गरेको छ ।
त्यस्तै प्रदेश अधिवेशन भदौ १ र २ गते गरिने निर्णय गरिएको सहमहामन्त्री डा.प्रकाश शरण महतले जानकारी दिए ।
विपक्षी गठबन्धनलाई निरन्तरता
बैठकले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा सहभागी हुन चाहने व्यक्ति र राजनीतिक दललाई समेटेर एकताबद्ध रुपमा अघि बढ्ने निर्णय पनि गरेको छ ।
नेता महतले भने,‘हामी चाहान्छौँ लोकतन्त्रको रक्षा होस् । संविधानको रक्षा होस् । र त्यसमा जो पार्टीहरु व्यक्तिहरु जोडिन चाहानुहुन्छ, उहाँहरुलाई जोड्दै यसलाई अझ मजबुतिका साथ अगाडि बढाउने र संविधान, लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा गर्ने र वर्तमान ओली सरकारले जसरी लोकतन्त्र, संविधानको मुल्य र मान्यतालाई एकपछि अर्को गरेर कमजोर गर्ने काम भएको छ त्यसको विरुद्ध वृहत्तर एकता गरेर जाने निर्णय भएको छ ।’
उनले कोरोना महामारीको बीचमा कसरी महाधिवेशन सम्पन्न गर्ने भन्ने बारेमा पनि छलफल भइरहेको बताए ।
उनकाअनुसार विपक्षी गठबन्धनलाई निरन्तरता दिने बैठकले निर्णय गरेको छ । लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनलाई थप मजवुत बनाउनुपर्ने बैठकको निकर्ष छ ।
बैठकले औपचारिक रुपमै गठबन्धनमा आवद्ध दलहरुसँगको सहकार्यलाई अगाडि बढाउने निर्णय गरेको नेता महतले बताए । ‘लोकतन्त्र र संविधान जोगाउन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय भएको हो, उनले भने ।

प्रतिक्रिया दिनुहोस्