स्विडेनको पहिलो जित, इंग्ल्यान्ड र स्कटल्याण्ड तथा चेक रिपब्लिक र क्रोयसिले अंक बाँडे



एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा इंग्ल्यान्ड र स्कटल्याण्ड तथा चेक रिपब्लिक र क्रोएसिया बराबरीमा रोकिएका छन् । वेम्बली स्टेडियममा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले स्कटल्याण्डसँग गोलरहित बराबरी खेलेको हो । खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकिएको हो ।

यस बराबरीसँगै समूह ’डी’ को इंग्ल्यान्डले २ खेलमा ४ अंक जोडेको छ । इंग्ल्यान्ड समूहको दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १–० गोल अन्तरले हराएको थियो ।

स्कटल्याण्डको भने यो पहिलो अंक हो । स्कटल्याण्डले २ खेलमा १ अंक जोडेको छ । पुछारमा रहेको स्कटल्याण्ड पहिलो खेलमा चेक रिपब्लिकसँग २–० गोल अन्तरले स्तब्ध भएको थियो ।

गएराति नै भएको अर्को खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग बराबरी खेल्दै अंक बाडेको छ । हाम्पडेन पार्कमा शुक्रबार राति भएको खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग १–१ गोलको बराबरी खेलेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता भने चेक रिपब्लिकले बनाएको थियो । खेलको ३७ औं मिनेटमा प्याट्रिक शिकले पेनाल्टीमा गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ४७ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई हारबाट जोगाए । उनले आन्द्रे कर्मारीचको पासमा गोल गरेका हुन् ।


यस बराबरीसँगै समूह ’डी’ मा रहेको क्रोएसियाले २ खेलमा १ अंक जोडेको छ । क्रोएसिया तालिकाको तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग १–० गोल अन्तरले पराजित भएको थियो।

चेक रिपब्लिकले २ खेलमा ४ अंक जोडेको छ । चेक रिपब्लिक शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा चेक रिपब्लिकले स्कटल्याण्डलाई २–० ले हराएको थियो ।

यता, स्विडेनले भने युरोकप फुटबलमा पहिलो जित निकालेको छ । समूह चरणको दोस्रो खेलमा शुक्रबार स्लोभाकियालाई १–० गोल अन्तरले पराजित गर्दै स्विडेनले पहिलो जित निकालेको हो ।

रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा स्विडेनलाई जित दिलाउन इमिल फोर्सबर्गले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७ औं मिनेटमा फोर्सबर्गले पेनाल्टीबाट गोल गरेका हुन् ।

यस जितसँगै समूह ’ई’ मा रहेको स्विडेनले २ खेलमा ४ अंक जोडेको छ । स्विडेनले नकआउट चरणमा पुग्ने सम्भावना बलियो समेत बनाएको छ ।

स्विडेनले पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको थियो । समूहको स्विडेन शीर्ष स्थानमा रहेको छ । स्लोभाकियाको यो पहिलो हार हो । पहिलो खेलमा स्लोभाकियाले पोल्याण्डलाई २–१ गोल अन्तरले हराएको थियो । दोस्रो स्थानको स्लोभाकियाले २ खेलमा ३ अंक जोडेको छ ।

युरोकपमा आज (शनिबार) तीन खेलहरु हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा फ्रान्स र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ । समूह ’एफ’ मा रहेको दुई टिमबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा साविक विजेता पोर्चुगल र जर्मनी भिड्ने छन् । दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । आज हुने तेस्रो खेलमा स्पेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । स्पेन र पोल्याण्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्