इटाली समूह विजेता, वेल्स पनि अन्तिम १६ मा, स्विट्जरल्यान्डको पहिलो जित



एजेन्सी : इटाली समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । रोममा आइतबार राति समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० गोल अन्तरले पराजित गर्दै इटाली समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

ओलम्पिक स्टेडियममा १० खेलाडीमा समेटिएको वेल्सविरुद्ध इटालीलाई जित दिलाउन माटियो पेसीनाले निर्णायक गोल गरे । इटालीविरुद्ध वेल्सले पनि गोलको केहि अवसर सिर्जना गरेको थियो । तर, गोलमा परिणत गर्न नसक्दा पराजित भएको हो ।

यस जितसँगै समूह ’ए’ को इटालीले समूह चरणमा शतप्रतिशत जित निकालेको छ । इटालीले ३ खेलमा ९ अंक जोड्यो । र, समूहको विजेता बन्दै अन्तिम १६ मा पुगेको हो । पहिलो खेलमा इटालीले टर्कीलाई ३–० ले हराएको थियो । यस्तै दोस्रो खेलमा इटालीले स्विट्जरल्यान्डलाई ३–० गोल अन्तरले नै हराएको थियो ।

इटालीसँग पराजित भएपनि वेल्स उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणमा पहिलो हार व्यहोरेको वेल्सले ३ खेलमा ४ अंक जोड्यो । र, समूहको दोस्रो स्थानमा रह्यो ।

आइतबार राति नै भएको अर्को खेलमा स्विट्जरल्यान्डले पहिलो जित निकालेको छ । टर्कीलाई ३–१ गोल अन्तरले परजित गर्दै स्विट्जरल्यान्डले पहिलो जित निकालेको हो । बाकुमा स्विट्जरल्यान्डलाई जित दिलाउन जद्रान शाकिरीले दुई गोल गरे । हरिस सेफेरोभीले एक गोल गरे । टर्कीका इरफान केभाचीले एक गोल फर्काए ।

समूह चरणको अन्तिम खेलमा जित निकालेपनि स्विट्जरल्यान्ड सिधै नकआउट चरणमा प्रवेश गर्न असफल भएको छ । तर, स्विट्जरल्यान्डको समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिम बन्दै अन्तिम १६ मा स्थान बनाउने सम्भावना रहेको छ ।
जसको लागि सबै समूह चरणको खेल सकिनु पर्नेछ । समूह ’ए’ मा रहेको स्विट्जरल्यान्डले ३ खेलमा ४ अंक जोड्यो । वेल्ससँग गोल अन्तरमा पछि पर्दा स्विट्जरल्यान्ड दोस्रो स्थानमा रहन असफल भएको हो ।

समूह चरणको पहिलो खेलमा वेल्ससँग बराबरी खेलेको स्विट्जरल्यान्ड दोस्रो खेलमा इटालीसँग पराजित भएको थियो । टर्की भने अंक विहीन बन्दै समूह चरणबाट बाहिरिएको छ । समूहको पुछारमा रहेको टर्कीले अंक जोड्न सकेन । पहिलो खेलमा खेलमा इटालीसँग पराजित टर्की दोसो खेलमा वेल्ससँग पराजित भएको थियो ।

आज चार खेल हुँदै

युरोकप फुटबलमा आज (सोमबार) चार खेलहरु हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज समूह ’बी’ र समूह ’सी’ को समान दुई दुई खेल हुनेछन् ।

समूह ’सी’ मा रहेको नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियासँग खेल्नेछ । दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । यसै समूहको अर्को खेलमा युक्रेन र अष्ट्रिया भिड्ने छन् । युक्रेन र अष्ट्रियाबीचको खेल ९ः४५ बजे सुरु हुनेछ ।

समूह ’बी’ मा रहेको बेल्जियमले फिनल्याण्डसँग खेल्नेछ । बेल्जियम र फिनल्याण्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । यसै समूहको अर्को खेलमा रुसले डेनमार्कसँग खेल्नेछ । दुई टिमबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्