विकास निर्माण गौर नपाको प्रमुख प्राथमिकता : गुप्ता



रौतहट : रौतहट जिल्लाको पहिलो नगरपालिकाको रुपमा रहेको गौर नगरपालिकाको आठौं नगरसभा सम्पन्न भएको छ । नगरसभामा गौर नपाका प्रमुख अजयकुमार गुप्ताले आर्थिक वर्ष २०७८/०७९को लागि अनुमानित ४६ करोड पाँच लाख ३४ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेका छन् ।

नगरप्रमुख गुप्ताले आर्थिक विकास क्षेत्र अन्तर्गत चालुतर्फ एक करोड ५८ लाख ५४ हजार, सामाजिक विकास क्षेत्र अन्तर्गतको चालुतर्फ पाँच करोड ७६ लाख २२ हजार र पुँजीगत तर्फ सात करोड २७ लाख २८ हजार, पूर्वाधार विकास क्षेत्र अन्तर्गत पुँजीगत सुधारतर्फ आठ करोड ४७ लाख ९२ हजार विनियोजन गरिएको बताए । सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र अन्तर्गत चालुतर्फ एक करोड ३७ लाख ५० हजार, कार्यालय संचालन तथा प्रशासनिक क्षेत्र अन्तर्गत चालुतर्फ शिक्षा, स्वास्थ्य, कृषि पशु सेवा, महिला विकास, रािष्ट्रय पंजिकरण विभाग, समृद्धि कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा स्वरोजगार कार्यक्रम र गौर नगरपालिका समेतको लागि एकमुष्ट २१ करोड ५७ लाख ८७ हजार रकम विनियोजन गरिएको नगरप्रमुख गुप्ताले जानकारी दिए ।

आर्थिक वर्ष ०७७/०७८ को २०७८ जेठ मसान्तसम्मको संशोधित आय व्यय विवरण अन्तर्गत आर्थिक वर्ष ०७७/०७८ को अनुमानित आय ४५ करोड ४८ लाख, संशोधित आय ५३ करोड २४ लाख १८ हजार, जेठ मसान्तसम्मको यथार्थ व्यय ३६ करोड ८९ लाख १५ हजार तथा ०७७/०७८को संशोधित व्यय अनुमान ५३ करोड २४ लाख १८ हजार रहेको नगरप्रमुख गुप्ताले प्रस्तुत गरे ।
आर्थिक वर्ष ०७८०७९ को नीति तथा कार्यक्रम तर्जुमा गर्दा संघिय सरकारले अवलम्बन गरेका आर्थिक तथा वित्तीय नीतिहरु, प्रदेश सरकारले लिएका आर्थिक तथा वित्तीय नीतिहरु, स्थानीय तहको आर्थिक कार्य प्रणालीको आधारहरु रहेको गौर नपाका नि. प्रमुख प्रशासकीय अधिकृत सुभाषकुमार ठाकुरले बताए ।

गौर नपाले आवश्यकता ठानेका विषयहरु, नगरवासीको राय सुझावबाट समेटिएका विषयहरु, विगत वर्षहरुमा गौर नपाले तयार पारेको नीति, कार्यक्रम तथा योजनाहरु, नगर विकासका मुद्दाहरु, कोभिड–१९, जलवायु परिवर्तन, विपद व्यवस्थापन, खाद्य तथा पोषण सुरक्षा, लैङ्गिक सशक्तीकरण तथा समावेशी विकास, पूर्ण सरसफाईयुक्त नगर लगायत विषयहरु रहेको उनले जानकारी दिए । कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि औषधि, उपकरण, सरसफाई सामग्री खाद्यान्न तथा खाना सहयोग गर्ने संघसंस्था, सामाजिक क्षेत्रका व्यक्तिहरुलाई नगरसभामा सम्मान गरिएको थियो । नगरसभामा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, गौर नपाका उपप्रमुख किरण ठाकुर, वडाध्यक्षहरु, कार्यपालिका सदस्य, राजनीतिक दलका पार्टी प्रतिनिधि, नागरिक समाज, सुरक्षा निकायका प्रमुख, संचारकर्मी, सरोकारवाला लगायत नगरवासीको उपस्थिति रहेको थियो ।

बजेट सार्वजनिक गरेपछि पत्रकारसँग कुराकानी गर्दै नगरप्रमुख गुप्ताले कोरोना महामारीसँग जुध्न स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिनुको साथै नगरवासीको भावनाअनुसार पूर्वाधार तथा विकास निर्माणलाई तीव्रता दिएको बताए । गौर नपा जिल्लाकै पहिलो नपा हो, त्यसलाई ख्याल गरेर जिल्लाकै उत्कृष्ट नपा बनाउने गरी विकास प्रयास गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्